नामिबियालाई नेपालको सामान्य लक्ष्य

नामिबियालाई नेपालको सामान्य लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन ३ । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध १ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो ।

विहीबार टियु क्रिकेट मैदानमा कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए ।

नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २-२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए ।

ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए ।

ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे ।

लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३-३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१-४ को स्थितिमा पुग्यो ।

त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे ।

लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४-७ को अवस्थामा पुग्यो ।

३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए ।

एरास्मसले ४२ औं ओभरको पहिलो बलमा करणलाई एलबीडब्लु धरापमा पारे । अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2024
Website | + posts