नेपाल आयल निगमले आगामी चैत महिनादेखि भारतबाट पाइपलाइनमार्फत पेट्रोल आयात गर्ने

नेपाल आयल निगमले आगामी चैत महिनादेखि भारतबाट पाइपलाइनमार्फत पेट्रोल आयात गर्ने : Icon Khabar

काठमाडौं, भदौ २४ । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । निगमले मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको जनाएको छ ।

आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले जानकारी दिएका छन् ।

यस परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गरिरहेको छ ।

निगमको अमलेखगन्ज डिपो कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधार निर्माणको काम अगाडि बढिरहेको उपाध्यायको भनाइ छ ।

दोस्रो चरणको काम अन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको उपाध्यायले जानकारी दिएका छन् ।

पूर्वाधार निर्माण सम्पन्न भएपछि पेट्रोल र मटितेल पाइपलाइनबाट आयात गरिने छ । पेट्रोल भण्डारण ट्याङ्क अपुग हुने भएकाले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको उपाध्यायको भनाइ छ ।

डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा २५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको निगमले जएको छ । एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मटितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण गरिएको निगमले जनाएको छ ।

दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता भएको थियो । जस अन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एकरएक वटा ट्याङ्क निर्माणको लागत बेहोर्ने छन् । मिश्रित इन्धन राख्‍नका लागि दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुने छ । आइओसीले करिब ७५ करोड भारतीय रुपियाँ खर्च गर्ने छ । दोस्रो चरणको परियोजनाको काम सम्पन्न दुई अर्ब १५ करोड भारतीय रुपियाँ लाग्ने निगमले अनुमान गरेको छ ।

परियोजना सम्पन्न भएपछि अमलेखगन्जसम्म पाइपलाइनमा पेट्रोल ल्याएर अन्य भूभागमा पठाउँदा ढुवानी खर्च आधा घट्ने निगमले जनाएको छ । पाइपलाइनबाट पेट्रोल आयात गर्दा वार्षिक करिब १५ करोड रुपियाँ बचत हुने निगमले अनुमान गरेको छ ।

पाइपलाइन नहुँदा डिजेल लिनका लागि भारतको बरौनीसम्म ट्याङ्कर पठाउनु पथ्र्यो । ट्याङ्करबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हडताललगायतले समस्या पार्दै आएको थियो ।

हाल पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको निगमले जनाएको छ । मुलुकभरको मागको करिब ७० प्रतिशत डिजेल अमलेखगन्ज डिपोले वितरण गरिरहेको जनाएको छ । अमलेखगन्जमा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको समाचार गोरखापत्रमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2023
Website | + posts