राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन खर्च सीमा रु चार लाख

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन खर्च सीमा रु चार लाख : Icon Khabar

काठमाडौं, फागुन १६ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता लागू हुँदैछ । बुधबार साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आचारसंहिता फागुन १७ गतेदेखि चैत ५ गतेसम्म लागू हुनेछ ।

अध्यक्षमा रामचन्द्र पौडेल र सुवास नेम्वाङ गरी दुई उम्मेदवार छन् । उनीहरु दुवैविरुद्ध उजुरी परेको छैन । राष्ट्रपतिको निर्वाचन सकिएपछि उपराष्ट्रपतिको निर्वाचन हुनेछ । त्यसैले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता हुन बाँकी छ ।

खर्चको व्यवस्था कस्तो छ ?

निर्वाचन आयोगका अनुसार अन्तिम नामावली सार्वजनिक भएपछि राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् । तर, उनीहरुलाई निर्वाचन खर्चको सीमा तोकिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा उम्मेदवारले उम्मेदवारी दर्तादेखि नतिजा घोषणासम्मको अवधिमा खर्चको सीमा तोकेको छ । उक्त व्यवस्थाअनुसार उम्मेदवारले बढीमा चार लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

तोकिएको सीमा अनुसार सवारी साधन र सम्मेलन तथा अन्तरक्रियामा प्रत्येक एक लाख रुपैयाँ खर्च गर्न सकिनेछ । त्यस्तै कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी साधनको इन्धन, प्रचार सामग्री, अन्य प्रचार प्रसार, छापा तथा विद्युतीय सञ्चारमाध्यममा २० हजार, यातायातमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार रुपैयाँ खर्च गर्न सकिनेछ ।

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

निर्वाचन आचारसंहितामा मतदान हुनुभन्दा ४८ घण्टा अगावै सार्वजनिक जमघट, जुलुस, नाराबाजी आदि गर्न नपाइने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल लगायतका कुनै पनि माध्यम प्रयोग गर्न नपाइने बताइएको छ । आचारसंहितामा कुनै पनि बाजा, सार्वजनिक भोज र हतियार बोकेर हिँड्न नपाइने व्यवस्था छ । रक्सी पनि निषेधित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts