सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग

जात्राका क्रममा नग्न वा अर्धनग्न शरीरमा बाजा बजाउने तथा अश्लील हाउभाउ र पहिरनसहित सार्वजनिक प्रदर्शन गर्ने गतिविधिले पनि सा:पारूको गरिमामाथि चोट पुर्‍याएको छ।

सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग : Icon Khabar

भक्तपुर, भदौ २१ । भक्तपुरमा मनाइने परम्परागत सा:पारू (गाईजात्रा) पर्व पछिल्ला वर्षहरूमा मौलिक सांस्कृतिक परम्पराभन्दा उच्छृंखल गतिविधि प्रदर्शन गर्ने थलो बन्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। जात्राका क्रममा विभिन्न पहिरनमा घिन्ताङघिसी ल्याउनेदेखि नग्न तथा अर्धनग्न रूपमा बाजा बजाउने, सम्पदामाथि चढ्ने, खुट्टाले टेक्ने र उफ्रिने लगायतका गतिविधि बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

परम्परागत रूपमा भक्तपुरको सा:पारू शोकलाई उत्सवमा रूपान्तरण गर्ने, दिवंगत आफन्तको सम्झना गर्ने तथा स्थानीय कला, संस्कृति र मौलिक परम्परा प्रस्तुत गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ। तर पछिल्लो समय केही समूहले पर्वको नाममा प्रदर्शन गर्ने अशोभनीय र आपाच्या गतिविधिले यसको सांस्कृतिक गरिमामाथि नै प्रश्न उठ्न थालेको स्थानीयको भनाइ छ।

विशेषगरी घिन्ताङघिसी खेल्ने क्रममा सम्पदा, मूर्ति तथा ऐतिहासिक संरचनामाथि चढ्ने, टेक्ने, उफ्रिने तथा जोखिमपूर्ण गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएको स्थानीय बताउँछन्। यस्ता गतिविधिले एकातर्फ विश्वसम्पदा क्षेत्रको संरक्षणमा चुनौती थपेको छ भने अर्कोतर्फ नयाँ पुस्तामा पर्वको मौलिक सांस्कृतिक अर्थभन्दा विकृत मनोरञ्जनको सन्देश जाने खतरा रहेको उनीहरूको भनाइ छ।

त्यस्तै, जात्राका क्रममा नग्न वा अर्धनग्न शरीरमा बाजा बजाउने तथा अश्लील हाउभाउ र पहिरनसहित सार्वजनिक प्रदर्शन गर्ने गतिविधिले पनि सा:पारूको गरिमामाथि चोट पुर्‍याएको स्थानीयको गुनासो छ।

जात्रा अवधिभर हरेक साँझ पाटीमै बसेर मादक पदार्थ सेवन गर्ने, मदिराका बोतल तथा बियरका क्यान जथाभावी पाटीमै फाल्ने र भट्टी पसलसमेत अबेर रातिसम्म सञ्चालन गर्ने प्रवृत्तिले सम्पदाको मर्यादा, वातावरण तथा जात्राको सांस्कृतिक गरिमामाथि असर पुर्‍याइरहेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार केही वर्षयता सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले समेत जात्रामा अस्वाभाविक र उच्छृंखल गतिविधि प्रदर्शन गर्ने प्रवृत्ति बढेको छ। ‘जात्रा’को नाममा जे गरे पनि छुट हुने मानसिकताले संस्कृति संरक्षणभन्दा विकृति बढाउने उनीहरूको तर्क छ।

‘संस्कृति मनाउने हो, सम्पदा बिगार्ने होइन’

स्थानीयवासीले जात्रालाई व्यवस्थित, मर्यादित र सांस्कृतिक मौलिकतासहित सञ्चालन गर्नुपर्ने माग गरेका छन्। विशेषगरी ऐतिहासिक सम्पदा संरचनामाथि चढ्ने, टेक्ने वा क्षति पुर्‍याउने कार्यलाई तत्काल रोक्नुपर्ने उनीहरूको माग छ।

यसका साथै सार्वजनिक स्थानमा अश्लील तथा उच्छृंखल गतिविधि प्रदर्शन गर्ने, जात्राको नाममा शान्ति–सुरक्षा र सामाजिक मर्यादा भंग गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्नुपर्ने आवाज स्थानीयस्तरमा उठेको छ।

स्थानीयले आगामी जात्रामा यस्ता गतिविधि दोहोरिन नदिन भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, प्रहरी प्रशासन तथा सम्बन्धित सांस्कृतिक निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताएका छन्।

उनीहरूले जात्रामा सहभागी हुने सबैलाई पनि आफ्नो जिम्मेवारी र सांस्कृतिक मर्यादा कायम राख्न आग्रह गरेका छन्। सा:पारू भक्तपुरको पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको स्थानीयको भनाइ छ।

प्रशासनको ध्यानाकर्षण

स्थानीयले विशेषगरी भक्तपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। जात्राअघि नै सम्पदा क्षेत्रको सुरक्षाका लागि आवश्यक निगरानी र स्पष्ट आचारसंहिता लागू गर्नुपर्ने तथा उल्लङ्घन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।

‘जात्राको नाममा विकृति होइन, संस्कृतिको संरक्षण गरौँ’ भन्ने आवाज अहिले भक्तपुरमा बलियो बन्दै गएको छ। सा:पारूको मौलिकता, ऐतिहासिकता र सांस्कृतिक गरिमा जोगाउन सम्बन्धित निकायले यसपटक प्रभावकारी कदम चाल्ने अपेक्षा स्थानीयले गरेका छन्।

Published Date: 06 September 2026


ताजा
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?