विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी

विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी : Icon Khabar

काठमाडौं, भदौ १९ । भि.एस. स्कुलले विश्व शान्ति, सद्भाव र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले हिरोसिमामा भएको आणविक बम आक्रमणबाट भएको विनाशको स्मरण गर्दै फोटो तथा भिडियो प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा हिरोसिमामा आणविक बम आक्रमणपछि सिर्जित भयावह अवस्थाका तस्बिर तथा भिडियो प्रदर्शन गरिएको थियो। विद्यार्थीलाई युद्ध तथा आणविक हतियारका विनाशकारी प्रभावबारे जानकारी गराउँदै शान्तिको महत्त्वप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा शान्तिको प्रतीकका रूपमा लिइने क्रेन बर्ड (कागजको सारस) बनाउने गतिविधिसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपालका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले विश्वमा शान्तिको सधैँ जित र युद्धको सधैँ हार हुने धारणा राखे। नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको देश भएकाले नेपालीले सत्मार्गमार्फत संसारलाई शान्तिको बाटोमा प्रेरित गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका–७ का वडा अध्यक्ष विमल कुमार होडाले विद्यार्थीले इतिहासलाई केवल पुस्तकमा सीमित नराखी त्यसबाट सकारात्मक सन्देश ग्रहण गर्नुपर्ने बताए। विगतका युद्ध तथा त्यसबाट भएको मानवीय क्षतिबाट पाठ सिक्दै आगामी पुस्ताले शान्तिपूर्ण समाज निर्माणमा योगदान दिनुपर्ने उनले उल्लेख गरे।

कार्यक्रममा जापानी अतिथिहरू Midori Sakamoto र Keiko Delailu तथा फ्रेन्च विश्वविद्यालयको अंग्रेजी विभागकी प्राध्यापक Claire Tardieu ले शान्ति र मानवताको आवश्यकताबारे आफ्ना धारणा राखे।

भि.एस. स्कुलका प्रमुख कार्यकारी अधिकृत विष्णु पराजुलीले हिरोसिमाको इतिहास सम्पूर्ण मानव जातिले गम्भीरतापूर्वक स्मरण गर्नुपर्ने विषय भएको बताए। आणविक हतियार तथा युद्धले मानव सभ्यतामा पार्न सक्ने विनाशकारी प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ थियो।

यस्ता कार्यक्रममार्फत विद्यार्थीमा युद्धका विनाशकारी प्रभावप्रति चेतना अभिवृद्धि गर्दै विश्व शान्ति, सद्भाव, सहअस्तित्व र मानवताको पक्षमा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा भि.एस. स्कुललगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो। विद्यालयकी एकेडेमिक डाइरेक्टर अञ्जना अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिइन्।

कार्यक्रमको अन्त्यमा विद्यालयका अध्यक्ष नारायण प्रसाद नेपालले सहभागी अतिथि, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

Published Date: 04 September 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क