देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै : Icon Khabar

काठमाडौं, भदौ १९ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गर्दै श्रद्धा, भक्तिभाव र उत्साहका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइरहेका छन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक तथा पौराणिक मान्यता रहेको छ। यही दिनको स्मरणमा प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमी पर्व मनाइने गरिन्छ भने यस पर्वको रातलाई ‘मोहरात्रि’का रूपमा पनि चिनिन्छ।

आजीवन सत्य, धर्म र न्यायको पक्षमा उभिँदै अन्याय तथा अधर्मको अन्त्यका लागि मानव समुदायलाई प्रेरित गर्नुभएका भगवान् श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न अद्भुत लीला प्रदर्शन गर्नुभएको धार्मिक विश्वास छ। पौराणिक कथाअनुसार उहाँले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिका पात्रहरूको संहार गरी सत्य र धर्मको स्थापना गर्नुभएको थियो।

कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई भगवान् श्रीकृष्णले दिनुभएको ज्ञान र उपदेशको सङ्ग्रह ‘श्रीमद्भगवद्गीता’ विश्वका विभिन्न भाषामा अनुवाद भई व्यापक रूपमा अध्ययन गरिने पवित्र ग्रन्थका रूपमा परिचित छ।

श्रीकृष्णजन्माष्टमीका अवसरमा आज देशभरका कृष्ण मन्दिरहरूमा विशेष पूजा–आराधना, भजनकीर्तन, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम आयोजना गरिएका छन्। श्रद्धालु भक्तजनहरू व्रत बसी भगवान् श्रीकृष्णको आराधना गर्नुका साथै रातभर जाग्राम बस्ने परम्परा रहेको छ।

पर्वका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहरास्थित नवतनधामलगायत देशभरका साना–ठूला कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ।

त्यसैगरी विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरूले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा आयोजना गरी पर्वलाई थप उल्लासमय बनाइरहेका छन्। श्रीकृष्णजन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

Published Date: 04 September 2026


ताजा
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क