एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै

एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै : Icon Khabar

काठमाडौँ, भदौ १८ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिन लागेको हो।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने ५० ओभरको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। पहिलो खेलमा प्राप्त जितले उच्च मनोबलमा रहेको नेपाली टोली मलेसियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा आफ्नो स्थिति बलियो बनाउने योजनामा छ।

नेपालको मुख्य लक्ष्य प्रतियोगिताको उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपका लागि स्थान सुरक्षित गर्नु हो। त्यसका लागि समूह चरणका प्रत्येक खेल महत्वपूर्ण भएकाले नेपाल आजको खेलमा पनि जित निकाल्ने प्रयासमा हुनेछ।

५० ओभरको क्रिकेटमा मलेसियाविरुद्ध नेपालको पछिल्लो प्रदर्शनसमेत उत्साहजनक छ। दुई टोलीबीच भएका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित रहेको छ। प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो। यसले आजको खेलअघि नेपाली टोलीको आत्मविश्वास थप बढाएको छ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा आयोजक मलेसियासँगै बहराइन, हङकङ र साउदी अरेबिया रहेका छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले समूह चरणको आगामी खेलमा भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। ५० ओभरको ढाँचामा साउदी अरेबियाविरुद्ध खेलेका दुई खेलमध्ये नेपालले एकमा जित हासिल गरेको छ भने अर्को खेल रद्द भएको थियो। हङकङविरुद्धका चार खेलमा भने नेपालले एक जित, दुई हार र एक खेलको नतिजा नआएको रेकर्ड बनाएको छ।

प्रतियोगिताको प्रारूपअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल जित्ने टोलीले सन् २०२७ मा हुने एसिया कपका लागि सिधै छनोट हुने अवसर प्राप्त गर्नेछ। त्यसैले नेपालका लागि आजको मलेसियाविरुद्धको खेल उपाधि यात्रासँगै एसिया कप छनोटको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

Published Date: 03 September 2026