काठमाडौं, साउन ३ । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् ।
जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या ४७ हजार ७९ ले कमी हो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागको तथ्यांकअनुसार म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । गत वर्ष म्यानपावरहरूले २ लाख ६८ हजार ९ सय ९० जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने १ लाख २८ हजार ५ सय २० जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए । गत वर्ष जी–टु–जी मार्फत ८ हजार १ सय ९७ जना गएका थिए ।
म्यानपावरहरूले अघिल्लो आर्थिक वर्ष ३ लाख ५९ हजार ६ सय ७५ जनालाई वैदेशिक रोगजारीमा पठाएका थिए । जुन गत आर्थिक वर्षको तुलनामा ९० हजार ६ सय ८५ ले कमी हो ।
वैदेशिक रोजगारीमा जानेहरूमा सबैभन्दा बढी यूएईमा १ लाख ८३ हजार ५ सय ८० (पुनः श्रम स्वीकृतिसहित), मलेसियामा १ लाख २८ हजार ७ सय ५३, कतारमा १ लाख २१ हजार २ सय ३० जना, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ जना रहेका छन् ।
ती बाहेक कुवेतमा ४३ हजार ३ सय ६०, रोमानिया ३३ हजार ३ सय ६०, जापानमा २२ हजार २ सय ६६ जना गएका छन् ।
Published Date: 19 July 2026