भक्तपुर, साउन १ । भोलि आयोजना हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ मा सहभागी हुने साइकलयात्रीका लागि आजदेखि आधिकारिक जर्सी वितरण सुरु गरिएको छ।
आयोजक साइकल कनेक्ट भक्तपुर का अनुसार जर्सी वितरण भक्तपुरको नेवा ननी, सल्लाघारी मा आज दिउँसो २ बजेदेखि अपराह्न ७ बजेसम्म गरिनेछ। कार्यक्रममा सहभागी हुन दर्ता गराएका सबैलाई सोही समयमा उपस्थित भई आफ्नो आधिकारिक जर्सी तथा आवश्यक सामग्री बुझ्न अनुरोध गरिएको छ।
आयोजकका अनुसार अहिलेसम्म ५०० भन्दा बढी व्यक्तिले ‘कोरा जात्रा भक्तपुर २०२६’ मा सहभागिताका लागि दर्ता गराइसकेका छन्। सहभागीहरूको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
यस वर्ष ‘सशक्तीकरण’ लाई मूल विषय बनाइएको कोरा जात्रा भक्तपुरको मुख्य कार्यक्रम साउन २ गते भक्तपुरको नःपुखु परिसरबाट सुरु हुनेछ। सहभागीहरूले आफ्नो क्षमता र रुचिअनुसार २५, ५०, ७५, १०० तथा पहिलोपटक समावेश गरिएको १५० किलोमिटर ‘सुपर कोरा’ मध्ये कुनै एक दूरीमा साइकल यात्रा गर्नेछन्।
आयोजकले सहभागीहरूलाई समयमै जर्सी बुझ्न तथा कार्यक्रमको निर्धारित समयअनुसार उपस्थित भई सफल आयोजनामा सहयोग गर्न आग्रह गरेको छ।
Published Date: 17 July 2026