नेपालमा मौसमको दोहोरो प्रभाव — पूर्वमा वर्षा, पश्चिममा गर्मी र लुको जोखिम

नेपालमा मौसमको दोहोरो प्रभाव — पूर्वमा वर्षा, पश्चिममा गर्मी र लुको जोखिम : Icon Khabar

काठमाडौँ, असार ११ । नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ, जसका कारण देशभर फरक–फरक मौसमी गतिविधि सक्रिय बनेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको स्पष्ट प्रभाव रहेको छ।

त्यस्तै, बाँकी पश्चिमी भूभागहरूमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसको असरस्वरूप हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने मौसमविद्हरूले बताएका छन्।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

यता पश्चिमी नेपालमा भने गर्मीको प्रकोप बढ्ने संकेत देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा अर्थात् ‘लु’ चल्न सक्ने सम्भावना रहेको छ। बागमती र गण्डकीका तराई भूभागमा पनि अत्यधिक गर्मी महसुस हुने अनुमान गरिएको छ।

आज राति पनि मौसममा मिश्रित प्रभाव कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशीको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

रातिको समयमा कोशी र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बागमतीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै कोशीको तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Published Date: 25 June 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग