काठमाडौँ, जेठ २५ । पछिल्लो समय फुल्चोकी जंगल क्षेत्रमा घुम्न तथा पदयात्राका लागि जाने व्यक्तिहरू हराउने, बाटो बिराउने तथा आफन्तसँग सम्पर्कविहीन हुने घटनाहरू बढ्दै गएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार फुल्चोकी क्षेत्र घना जंगल, अपरिचित पदमार्ग तथा मौसम अचानक परिवर्तन हुने जोखिमयुक्त स्थान भएकाले त्यहाँ भ्रमण गर्ने क्रममा विभिन्न समस्या उत्पन्न हुने गरेका छन्। हालसम्म त्यस्ता घटनामा उद्धार कार्यसमेत सञ्चालन गर्नुपरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर ललितपुरले विद्यालय, कलेज तथा सर्वसाधारणलाई समूह वा अनुभवी गाइडसँग मात्र भ्रमण गर्न, आफ्नो गन्तव्यबारे परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित छोटो बाटो प्रयोग नगर्न तथा मोबाइल, खानेपानी र आवश्यक सामग्री साथमा राख्न अनुरोध गरेको छ।
त्यसैगरी साँझपख तथा मौसम प्रतिकूल भएका बेला जंगल क्षेत्रमा प्रवेश नगर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ। सम्भावित जोखिम न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाई सुरक्षित रूपमा भ्रमण गर्न प्रहरीले अनुरोध गरेको छ।
Published Date: 08 June 2026