काठमाडौँ, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा देशभरका करिब ८० हजार बालबालिकाले ‘एक बालबालिका, एक बिरुवा’ राष्ट्रिय अभियानअन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय तथा सामुदायिक सरोकारवालाको सहकार्यमा सञ्चालन गरिएको अभियान १७ जिल्लाका ४६ स्थानीय तहमा एकसाथ सम्पन्न भएको हो।
अभियानअन्तर्गत उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौं, ललितपुर, लमजुङ, जुम्ला, कैलाली, कञ्चनपुर, अछाम, डोटी, दैलेख, जाजरकोट, बाँके र बझाङका बालबालिकाले विद्यालय, समुदाय, वडा कार्यालय तथा आफ्नै घरआँगनमा वृक्षारोपण गरेका थिए। वातावरण संरक्षण तथा दिगो जीविकोपार्जनमा योगदान पुर्याउने उद्देश्यले आँप, लिची, अम्बा, सुन्तला लगायतका फलफूलका साथै स्थानीय हावापानीअनुकूल हजारौं बिरुवा रोपिएको जनाइएको छ।
अभियानको विशेष पक्ष समावेशी सहभागिता रहेको छ। कार्यक्रममा ५७३ जना अपाङ्गता भएका बालबालिकाले पनि सक्रिय रूपमा सहभागिता जनाएका छन्। यसले जलवायु परिवर्तनसम्बन्धी अभियानमा सबै बालबालिकाको समान सहभागिता सुनिश्चित गर्ने वर्ल्ड भिजन नेपालको प्रतिबद्धतालाई उजागर गरेको छ।
वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन २७ वटा साझेदार संस्था, स्थानीय सरकार, सामुदायिक वन समूह तथा परिवारहरूको प्रभावकारी समन्वय रहेको थियो। रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि प्राङ्गारिक मलको प्रयोग, नियमित हेरचाह तथा अनुगमनलाई समेत अभियानसँग जोडिएको छ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्राविधिक कार्यक्रम (उत्थानशीलता तथा जीविकोपार्जन) सह-निर्देशक प्रकाश तिवारीले वातावरणीय ह्रास र जलवायु परिवर्तनले बालबालिकाको भविष्यमा पार्ने असरलाई सम्बोधन गर्न संस्था प्रतिबद्ध रहेको बताए। उनले ‘एक बालबालिका, एक बिरुवा’ अभियानले बालबालिकामा वातावरणप्रति सचेतना र जिम्मेवारीबोध विकास गरेको उल्लेख गर्दै देशभरका हजारौं बालबालिका जलवायु समाधानका सक्रिय साझेदारका रूपमा उभिनु प्रेरणादायी भएको बताए।
अभियानप्रति स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षाक्षेत्रका व्यक्तित्वहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। एकदरा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले यस अभियानले हरित समुदाय निर्माणका साथै खाद्य सुरक्षा र पोषणमा समेत दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरे। त्यस्तै राष्ट्रिय आधारभूत विद्यालय बहेडाका प्रधानाध्यापक राम ईश्वर मण्डल तथा टीकापुर नगरपालिका–७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले अभियानले बालबालिकालाई प्रकृतिप्रति जिम्मेवार बनाउन र व्यावहारिक शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
वृक्षारोपणमा सहभागी बालबालिकाहरूले पनि उत्साहजनक सहभागिता जनाएका छन्। ८ वर्षीया रोशनी यादव र १४ वर्षीय गौतम साहले आफूहरूले रोपेका बिरुवाको नियमित हेरचाह गर्ने तथा साथीहरूलाई पनि वृक्षारोपणका लागि प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जुम्लाकी बासमती बुढाले बालबालिका स्वयं वृक्षारोपणमा सक्रिय हुँदा उनीहरूको प्रकृतिसँगको सम्बन्ध अझ बलियो बनेको अनुभव सुनाइन्।
कैलालीकी विविषा चौधरी, टीकापुरकी आस्था आर.सी., कीर्तिपुरकी श्रुति भण्डारी तथा कञ्चनपुरकी एलिसाले रोपिएका बिरुवाले भविष्यमा हरियाली, स्वच्छ वातावरण र स्वस्थ जीवनका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक रोजलिन हन्सन ग्याब्रिएलले अभियानको सफल कार्यान्वयनबाट संस्था गौरवान्वित भएको बताइन्। उनले बालबालिकाले हरित र दिगो भविष्य निर्माणका लागि अहिले नै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देख्दा थप ऊर्जा र प्रेरणा मिलेको उल्लेख गरिन्।
‘एक बालबालिका, एक बिरुवा’ अभियानलाई बालबालिकाको नेतृत्वमा सञ्चालन भएको जलवायु कार्यको सशक्त उदाहरणका रूपमा हेरिएको छ। यसले वातावरण संरक्षणसँगै भावी पुस्तालाई आफ्नो भविष्यप्रति जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।