भनपा–८ का खेलाडीहरू वडा कप फुट्सल विजेता बनेपछि सम्मानित

भनपा–८ का खेलाडीहरू वडा कप फुट्सल विजेता बनेपछि सम्मानित : Icon Khabar

भक्तपुर, जेठ २३ । भक्तपुर नगर वडा कप फुट्सल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भक्तपुर नगरपालिका वडा नं. ८ का खेलाडीहरूलाई शनिबार एक समारोहबीच बधाई तथा सम्मान गरिएको छ।

भक्तपुर नगरपालिका वडा नं. ८ को आयोजनामा वडा कार्यालयमा सम्पन्न सम्मान कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विजेता खेलाडीहरूलाई सम्मानपत्र तथा खेल पोशाक वितरण गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल खेलाडीहरूको प्रशंसा गर्दै खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्यको भावना तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

वडा अध्यक्ष कृष्णप्रसाद कोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाज सुधार माविका पूर्व प्रधानाध्यापक लक्ष्मीनारायण दुवाल विशेष अतिथिका रूपमा उपस्थित थिए भने वडा सदस्य रामसुन्दर वासीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा वडा नं. ८ का खेलाडीहरूले हासिल गरेको सफलताले वडाको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको विकास तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि वडा कार्यालयले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Published Date: 06 June 2026