जन्मथलोलाई योगदान पुर्‍याउने व्यक्तिहरूलाई खन-काठमाडौं सेवा समाजको सम्मान

जन्मथलोलाई योगदान पुर्‍याउने व्यक्तिहरूलाई खन-काठमाडौं सेवा समाजको सम्मान : Icon Khabar

काठमाडौँ, जेठ २३ । खन-काठमाडौं सेवा समाजले अर्घखाँचीको खनमा जन्मिएर आफ्नो जन्मथलोलाई योगदान पुर्‍याउने जेष्ठ नागरिक, निजामती कर्मचारी तथा एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा आयोजित एक कार्यक्रममा उनीहरूलाई समाजले सम्मान गरेको हो ।

सम्मानित हुने जेष्ठ नागरिकमा ईश्वरीप्रसाद खनाल, खुमकला खनाल, रेनुका खनाल, रुद्रदेवी खनाल, रुद्रकला खनाल, रुद्रप्रसाद घिमिरे, शान्ता खनाल, बालकुमारी खनाल, भक्तिप्रसाद खनाल, ढुनिराम खनाल, हरिप्रसाद खनाल, हुमकला रिजाल र इन्द्राकुमार घिमिरे रहेका छन् ।

डा. मदन खनाललाई शिक्षा तथा अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै विद्यावारिधि हासिल गरी खनको प्रतिष्ठा बढाउन सफल भएकोमा विशेष सम्मान गरिएको समाजले जनाएकाे छ ।

यसै अवसरमा उपसचिवहरू भेषराज खनाल, तेजबहादुर खनाल, वासुदेव खनाल तथा नेपाल आयल निगम लिमिटेडकी निर्देशक निर्मला आचार्य र नेपाल प्रहरीमा कार्यरत खिमप्रसाद खनाललाई पनि आफ्नो जन्मस्थानलाई दिएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै सम्मान गरिएको छ ।

त्यस्तै, समाजले अघिल्लो एसईईमा उत्कृष्ट नतिजा ल्याउने श्री कालिका नेरा माध्यमिक विद्यालयकी समृद्धि खनाल र श्री किरण माध्यमिक विद्यालयका विष्णु विश्वकर्मालाई पनि सम्मान गरेको छ । कलाकार जमुना सनामलाई पनि सम्मान गरिएकाे छ ।

उनीहरूलाई समाजका अध्यक्ष खिमप्रसाद घिमिरे, प्रमुख अतिथि डिल्लीराज घिमिरे, जिल्ला अदालत ललितपुरका न्यायाधीश पुनाराम खनाल, धर्मराज खनाल, शोभाखर खनाल समाजसेवी लिलबहादुर विकलगायतले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

यसै अवसरमा संस्थाका अध्यक्ष खिमप्रसाद घिमिरेले खनमा जन्मिएका सबै जना संगठित हुनुपर्ने र सुखदु:खको साटासाट गर्नुपर्ने बताए । त्यसका लागि संस्थालाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, डिल्लीराज घिमिरेले कामको सिलसिलामा जहाँ-जहाँ पुगे पनि आफू जन्मिएको ठाउँलाई बिर्सन नहुने बताउँदै काठमाडौंमा हुने यस्ता कार्यक्रम गाउँमा लैजानुपर्ने उल्लेख गरे । न्यायाधीश पुनाराम खनालले काठमाडौंमा कार्यरत खनाली एकजुठ भएर भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी लिलबहादुर विकले काठमाडौंका रहेका खनालीलाई आफू जन्मिएको माटोलाई नबिर्सन अपिल गरे । खन एक ऐतिहासिक स्थल भएकाले यसको प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका संयोजक गोविन्द खनालले आफूहरू काठमाडौंमा रहेका खनालीहरूलाई एकजुट गरेर जन्मथलोलाई योगदान दिने अभियानमा रहेको उल्लेख गरेका थिए । करिब दुई सयभन्दा बढी सहभागी कार्यक्रमको सञ्चालन समाजका सचिव हुमप्रसाद खनालले गरेका थिए ।

खन अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ मा पर्छ । यो खनाल जातिको उत्पत्ति भएको ऐतिहासिक ठाउँ हो । यही ठाउँमा जन्मिएर काठमाडौंमा कार्यरत व्यक्तिहरूको संस्था हो खन-काठमाडौं सेवा समाज । २०७१ मा स्थापना भएको समाजले विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।

Published Date: 06 June 2026