नेपाल-भारत सीमा विवादको प्रश्नमा प्रधानमन्त्री शाह पुन: सदनमा जवाफ दिन तयार

नेपाल-भारत सीमा विवादको प्रश्नमा प्रधानमन्त्री शाह पुन: सदनमा जवाफ दिन तयार : Icon Khabar

काठमाडौं, जेठ १९ । सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल-भारत सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुन: सदनमा जवाफ दिन तयार रहेको बताएका छन् ।

प्रधानमन्त्रीले यसअघि संसद्‍मा भनेको विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर दिने बताएका हुन्। आजको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुका प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ। उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ।’

कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य भएको उनले बताए। यो विषय दुई देशबीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको बताएको पोखरेलको भनाइ छ।

उनले भने, ‘दुई देशबीच सीमा विवाद मिलाउनका लागि विभिन्न संयन्त्रहरु छन्। पहिलादेखि नै बनेको संयन्त्र हो। सीमा विवाद कसरी सल्टाउने भनेर प्रधानमन्त्रीजीले भन्नुभएको छ। यो विषयमा नेपालले पनि डिप्लोमेटिक नोट पठाएको छ, इन्डियाले पनि पठाएको छ। दुई देश बसेर जति पनि सीमा विवाद छ, त्यो मिलाउने कुरा प्रधानमन्त्रीजीले नै भनिसक्नु भएको छ।’

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसद्‍मा दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

Published Date: 02 June 2026