भक्तपुरमा दाफा प्रदर्शनीको तयारी पूरा हुँदै, सहभागी टोलीको क्रम निर्धारण

भक्तपुरमा दाफा प्रदर्शनीको तयारी पूरा हुँदै, सहभागी टोलीको क्रम निर्धारण : Icon Khabar

भक्तपुर, जेठ १२ । भक्तपुर नगरपालिकाको आयोजनामा २०८३ जेठ १५ र १६ गते नासमना टोलमा हुने भक्तपुर नगरव्यापी दाफा प्रदर्शनीको तयारीस्वरुप आज संस्कृतिकर्मीहरुको भेला तथा सहभागी समूहहरुको क्रम निर्धारण गर्न गोलाप्रथा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरभित्र रहेका विभिन्न दाफा समूहका सांस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरुको सहभागिता रहेको थियो । भेलामा आगामी प्रदर्शनीको तयारी, सहभागी समूहहरुको व्यवस्थापन तथा नियमावलीबारे छलफल गरिएको थियो । साथै, प्रदर्शनीमा सहभागी हुने समूहहरुको क्रम निर्धारण गर्न गोलाप्रथा समेत गरिएको थियो ।

भेलामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दाफा प्रतियोगितामा सहभागी संस्कृतिकर्मी तथा दाफा समूहका प्रतिनिधिहरुले समय पालना र अनुशासनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

उनले दाफा भजन केवल सांस्कृतिक परम्परा मात्र नभई नेपाली मौलिक संस्कृति, पहिचान र सभ्यतासँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गरे । “हाम्रो संस्कृति हामीले नै बचाउनुपर्छ” भन्ने भावनासहित दाफा प्रदर्शनी आयोजना गरिएको बताउँदै उनले दाफा भजन गौरव गर्न लायक सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा नयाँ पुस्तालाई जोड्न आवश्यक रहेको धारणा राखे ।

भक्तपुर नगरपालिकाको आयोजनामा हुने दाफा प्रदर्शनीमा ४९ वटा दाफा टोलीहरुको सहभागिता रहने जानकारी भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले दिएका छन् ।

Published Date: 26 May 2026