काठमाडौँ, वैशाख ९ । निद्रा मानव जीवनका लागि अति आवश्यक कुरा हो। जसरी स्वस्थ बन्नका लागि पोषिलो खानपान, व्यायाम र मानसिक सन्तुष्टि लगायतका कुराहरू आवश्यक पर्छन्, त्यसरी नै निद्रा पनि अत्यावश्यक छ।
निद्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, शरीरलाई पुनर्ताजगी प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गर्छ। साथै मानसिक कार्यक्षमता, जस्तै: स्मरण शक्ति, एकाग्रता, ध्यान र रचनात्मकतालाई बढावा दिन पनि निद्राको जरुरी हुन्छ।
उमेर अनुसार मानिसलाई निद्राको आवश्यकता पनि फरक-फरक हुने गर्छ। शारीरिक कार्यहरू जस्तै हर्मोनहरूको सन्तुलन, मुटु र रक्तसञ्चार स्वास्थ्यको सुदृढीकरण, मेटाबोलिज्म सुधार र तौल नियन्त्रण गर्ने, सौन्दर्यता बढाई छालामा चमक ल्याउने जस्ता अनेकौँ कार्य निद्राले गर्ने वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा. हेमराज कोइराला बताउँछन्।
कसलाई दैनिक कति निद्राको आवश्यकता पर्छ ?
सामान्यतया वयस्कहरूका लागि दैनिक ७ देखि ८ घण्टा गुणस्तरीय निद्रा आवश्यक मानिन्छ। स्वस्थ जीवनशैलीका लागि यो समय शरीरलाई आराम दिन र मस्तिष्क सक्रिय राख्न जरुरी छ। उमेर अनुसार निद्राको आवश्यकता फरक पर्छ; नवजात शिशुलाई १४–१७ घण्टा, बालबालिकालाई ९–१२ घण्टा र वृद्धवृद्धालाई ७–८ घण्टा निद्रा आवश्यक हुन सक्छ।
उमेर अनुसार आवश्यक निद्रा:
नवजात शिशु (०–३ महिना): १४ देखि १७ घण्टा
शिशु (४–१२ महिना): १२ देखि १६ घण्टा
बालबालिका (१–५ वर्ष): १० देखि १४ घण्टा
विद्यालय जाने उमेर (६–१३ वर्ष): ९ देखि १२ घण्टा
किशोरकिशोरी (१४–१७ वर्ष): ८ देखि १० घण्टा
वयस्क (१८–६४ वर्ष): ७ देखि ९ घण्टा
वृद्धवृद्धा (६५+ वर्ष): ७ देखि ८ घण्टा
गहिरो निद्राका लागि टिप्स:
सुत्ने र उठ्ने निश्चित समय बनाउनुहोस्।
सुत्नुअघि मोबाइल वा टिभी नहेर्नुहोस्।
कोठा शान्त, अध्याँरो र आरामदायी बनाउनुहोस्।
नियमित व्यायाम गर्नुहोस्।
Published Date: 22 April 2026