वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने : Icon Khabar

काठमाडौं, वैशाख ६ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिन सक्ने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयबीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो।

यो प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ। योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैंले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

आवेदकको विवरण रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ सँग अन्तरआवद्धता भएकाले एनओसीको राजस्व पूर्ण रूपमा अनलाइन गरिएको छ।

एप्रुभ भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट डाउनलोड गर्न सक्नेछन्। सर्टिफिकेटमा क्यूआर कोड भएकाले क्यूआर स्क्यानरबाट हेर्न सकिनेछ।

Published Date: 19 April 2026