प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक : Icon Khabar

काठमाडौं, मंसिर ७  ।  त्रिभुवन विश्वविद्यालयका सेवा–निवृत्त प्राध्यापक डा. प्रेम शर्माको जीवनी र कैलाश मानसरोवर यात्रालाई केन्द्रमा राखेर तयार गरिएको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ काठमाडौंमा सार्वजनिक गरिएको छ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM)मा आयोजित समारोहमा काठमाडौँ विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा.डा. बालचन्द्र लुइटेलले पानसमा दीप प्रज्वलन गर्दै वृत्तचित्र लोकार्पण गरे।

कार्यक्रममा बोल्दै लुइटेलले शर्माको जीवनका अनुभव, संघर्ष र दृष्टिले धेरैलाई प्रेरित गर्ने बताए। उनले वृत्तचित्र जस्तो माध्यमले विचार, दर्शन र अनुसन्धानलाई व्यापक रूपमा दर्शकसमक्ष पुर्‍याउने भएकाले यसका प्रयत्नहरू महत्त्वपूर्ण हुने टिप्पणी गरे।

शर्माकै विद्यार्थी तथा वृत्तचित्रका निर्माता/लेखक तथा निर्देशक उप–प्राध्यापक डा. राजन विनायक पासाले स्वागत मन्तव्य दिँदै वृत्तचित्र निर्माणको उद्देश्य स्पष्ट पारे। उनले प्रेम शर्माको संघर्षमय र प्रेरणादायी यात्राले आत्मपरक वृत्तचित्र निर्माण गर्न उत्प्रेरित गरेको बताए।

कार्यक्रममा त्रि.वि. नेपाली विभागका सह–प्राध्यापक नेत्र न्यौपानेले कैलाश मानसरोवरको धार्मिक–सांस्कृतिक महत्व र वृत्तचित्रमा दृश्य तथा कथनको संयोजनलाई प्रभावकारी भएको बताए। ग्रामीण विकास विभागका सह–प्राध्यापक डा. सुमन खरेलले शर्मालाई प्रेरणादायी व्यक्तित्व भन्दै ‘पीडामा पनि हाँस्न सक्ने र सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने शिक्षक’को रूपमा स्मरण गरे।

बरिष्ठ बाल आँखारोग विशेषज्ञ प्रा.डा. सबिना श्रेष्ठले मानसरोवरको धार्मिक पवित्रता र यात्राको आध्यात्मिक पक्षबारे टिप्पणी गरिन्।

समारोहको अन्त्यमा सभापति रहेका प्रा.डा. शर्मा स्वयंले कैलाश यात्राका आफ्ना अनुभूति स्मरण गरे। उनले जीवनका विविध मोडहरू र देखेका/भोगेका घटनाको कथा वृत्तचित्रमार्फत प्रस्तुत गर्न पाउनु आफ्ना विद्यार्थीप्रति गुरुदक्षिणा भएको बताए। साथै, नेपाल ज्ञान, सम्भावना र सिर्जनशील ऊर्जाले भरिएको देश भएकाले भावी पुस्तालाई व्यावहारिक शिक्षा र सिर्जनामा लाग्न आग्रह गरे।

कार्यक्रममा अतिथि तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन पत्रकार दुर्गाराज पाण्डेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 23 November 2025
Website | + posts