किन बढ्दैछ अमेरिकी डलरको भाउ ? यसको जोखिम के ?

किन बढ्दैछ अमेरिकी डलरको भाउ ? यसको जोखिम के ? : Icon Khabar

काठमाडौं, वैशाख १७ । पछिल्लो समय अमेरिकी डलर बिलयो बन्दा अन्य मुद्राहरु कमजोर हुँदै आएका छन् । विशेषगरी, एसियाली मुलुकका राष्ट्रिय मुद्राहरुमा बलियो अमेरिकी डलरको बढी असर परिरहेको छ ।

जापनको येन डलरको तुलनामा ३४ वर्षकै न्यून विन्दुमा पुगेको छ । दक्षिण कोरियाली ‘वन’ पनि डलरको तुलनामा विगत १ वर्षयताकै कमजोर विन्दुमा पुगेको छ भने भारतीय रुपैयाँ पनि हालै मात्र ऐतिहासिक न्यून विन्दुमा पुगेको थियो ।

डलर सूचकांक १० महिनायताकै उच्च विन्दुमा पुगेपछि अन्य देशहरुको मुद्रा कमजोर बनेको हो । यद्दपि, यो डलरको उच्चतम विन्दु भने होइन । डलर सन् २०२२ को सेप्टेम्बरमा ब्याजदर वृद्धि र रुस–युक्रेन युद्धका कारण डलरको मागमा वृद्धि हुँदा ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो । सन् २०२२ मा लगानीकर्ताहरु विश्वभर मौद्रिक कडाईका कारण डलरमा झुम्मिएका थिए ।

तर यसको विपरीत अहिले भने अमेरिकी उत्पादन क्षमताले मागलाई धान्न नसकिरहेको अवस्था र विश्वभर घट्दो मुद्रास्फीतिका बीच डलर बलियो बन्दै गएको छ । बजारले अहिले अमेरिकी ब्याजदर उच्च रहने र अन्य देशहरुमा दरहरु घट्ने विश्वास गर्न थालेपछि लगानीकर्ताहरुले राम्रो प्रतिफल र अमेरिकी आर्थिक वृद्धिबाट फाइदा लिन डलर छनौट गर्ने देखिएको छ ।

यसले विश्वव्यापी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्नुका साथै डलरको मूल्यलाई थप माथि लैजान दबाब दिने देखिएको छ । बलियो डलरले पुनः विश्वव्यापी मुद्रास्फीतिको जोखिम निम्त्याउने सम्भाव्यतासहित व्यापार प्रवाहलाई परिवर्तन गर्दछ । बलियो डलरले अमेरिकी उपभोक्ता र कम्पनीहरुको क्रय शक्ति बढाउँदै अन्य अर्थतन्त्रहरुबाट वस्तु तथा सेवाहरु खरिद गर्न सहज बनाउँछ ।

यद्दपि, यसले बढ्दो महँगीलाई नियन्त्रण गर्न थालिसकेका देशहरुमा पुनः मुद्रास्फीति भित्र्याउने सम्भावना बढाएको छ । स्थानीय उपभोक्ता र कम्पनीहरुले डलर तिरेर खरिद गर्नुपर्ने वस्तु तथा सेवाहरुका लागि बढी मूल्य तिर्नुपर्ने हुन्छ । बैंक फर इन्टरनेसनल सेटलमेन्टका अनुसार सन् २०२० देखि कमोडिटीको मूल्य पनि डलरको मूल्य अनुसार नै बढ्ने वा घट्ने गर्दै आएको छ ।

व्यापार परिवर्तन विशेषगरी अमेरिकाकै लागि अस्थिर हुन सक्छ । बलियो डलरले आयातलाई अझ आकर्षक बनाउँछ भने निर्यात विदेशी बजारभन्दा बाहिर रहन्छ । यसले अमेरिकी व्यापार घाटालाई थप बढाउने र आपूर्ति श्रृङ्खलामा चीनबाट अलग हुने अमेरिकी प्रयासलाई पनि कमजोर बनाउने देखिन्छ ।

कमजोर चिनियाँ अर्थतन्त्रसँग जोडिएको बलियो डलरका कारण बजारमा चिनियाँ सामानहरुको बाढी आउन सक्छ ।बुलिस डलरले वित्तीय प्रणालीमा पहिलेदेखि नै अवस्थित रहेका तनावहरुलाई थप्न बढाउन सक्छ । विशेषगरी, बलियो डलरले उदीयमान अर्थतन्त्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको सावाँ र ब्याज बढाउने भएका कारण वित्तीय तनाव थप बढ्न सक्ने देखिन्छ ।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले पनि उच्च अमेरिकी ब्याजदरका कारण क्षेत्रीय वा विश्वव्यापीरुपमा धेरै ऋण डिफल्ट हुनसक्ने चेतावनी दिएकी छिन् ।डलरको बुलिस रनले निम्त्याउनसक्ने जोखिमहरुबाट बच्नका लागि सम्भावित समाधानहरु थोरै रहेका छन् । धेरै देशहरुले ठूलो मात्रामा डलर रिजर्भमा राखेका छन् र उनीहरुले डलर बेच्न सक्छन् ।

तर यदि अमेरिकी ब्याजदरहरु उच्चदरमै रहनेक्रम जारी रहेमा मुद्रा बजारमा हुने कुनैपनि हस्तक्षेप क्षणिक मात्र हुनेछ । डलरको बिक्री गर्ने सम्बन्धित देशको तरलतामा पनि कमी आउन सक्छ ।अमेरिकाले सैद्धान्तिकरुपमा डलरको बिक्री गर्ने प्रयास गर्न सक्छ । तर धेरै विश्लेषकहरुले यसलाई असम्भव बताएका छन् ।

इन्डोनेसियाले गत हप्ता डलरको वृद्धि रोक्नलाई ब्याजदर बढाए जस्तै अन्य देशहरुले पनि सोही उपाय लगाउन सक्छन् । तर यसले पनि आर्थिक वृद्धिलाई कमजोर बनाउने सम्भावना उत्तिकै रहेको छ ।बढ्दो डलरका कारण उदीयमात्र र विकासशील राष्ट्रहरुले सजग हुनुपर्ने देखिएको छ । डलरको लामो अवधिको प्रक्षेपण अन्ततः नोभेम्बरको राष्ट्रपति चुनावमा आउन सक्छ ।

बाइडेनले बलियो अमेरिकी मुद्राका बारेमा टिप्पणी नगरे पनि अमेरिकी ट्रेजरी सचिव जेनेट येलेनले भने आफ्ना जापानी र कोरियाली समकक्षीहहरुसँगको बैठकमा चिन्ता व्यक्त गरेकी छिन् । यसैबीच, अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले डलरको वृद्धिलाई ‘विपत्ति’ बताएका छन् ।

ट्रम्पको आगामी कार्यकालमा आर्थिक पदका लागि छनोट हुनसक्ने पूर्व व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले बलियो अमेरिकी डलर र बढ्दो अमेरिकी ऋणको सामना गर्न डलरको अवमूल्यनसहित कडा कदम चाल्नुपर्ने बताएका छन् । – फाइनान्सियल टाइम्सबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2024
Website | + posts