वाम गठबन्धनको सम्भावित परिदृष्य : राष्ट्रियसभा अध्यक्षको निर्वाचन अवधिभर नयाँ ट्विस्ट आउने संकेत

वाम गठबन्धनको सम्भावित परिदृष्य : राष्ट्रियसभा अध्यक्षको निर्वाचन अवधिभर नयाँ ट्विस्ट आउने संकेत : Icon Khabar

काठमाडौं, फागुन १५ । राष्ट्रियसभा निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उत्पन्न गराएको असहजता अहिले अध्यक्षको निर्वाचन नजिकिँदै जाँदा थप पेचिलो बन्दै गएको छ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कोशीमा आफ्नो उम्मेदवार पराजित बनेपछि कांग्रेससँग माओवादी रुष्ट बनेको थियो। त्यसैको उपज गठबन्धनमा असन्तुष्टि बढाएको थियो।

अहिले फेरि राष्ट्रियसभा अध्यक्षमा दुबै दलले दाबी कायमै राखेपछि सत्तारुढ कांग्रेस माओवादीबीच सहमति जुट्न सकेको छैन। दुबैका आआफ्नै दाबीले सत्ता गठबन्धनमा किचलो बढेको छ।

सुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री बनेर कांग्रेससँग सत्तासहकार्य गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाका अध्यक्षको पदावधि सकिनै लाग्दा उक्त पद दाबी गरेपछि सत्ता गठबन्धनमा असामञ्जस्यता उत्पन्न भएको छ।

यही फागुन २० मा हालका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिँदैछ। त्यसलगत्तै सदनले नयाँ अध्यक्ष चयन गर्नुपर्ने छ। राष्ट्रियसभाको ठूलो दलको हैसियतले माओवादीले आफ्नो दाबी कायमै राखेको सार्वजनिक रुपमा बताउँदै आएको छ।

अहिले ५९ सदस्यीय राष्ट्रियसभामा माओवादीका १५ सांसद छन्। तीमध्ये फागुन २० गते माओवादीका तीन जनाको कार्यकाल सकिन लागेको छ। हालैको निर्वाचनबाट माओवादीका ६ जना उम्मेदवार मध्ये ५ जना निर्वाचित भएर संसद प्रवेश गर्दैछन्। माओवादीले राष्ट्रियसभामा १७ सांसदसहित पहिलो दलको हैसियत बनाएको छ।

राष्ट्रियसभामा १६ सांसद रहेको सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले पनि पूर्वसहमति अनुसार अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आइरहेको छ। सत्ता गठबन्धनकै दुई दलको अध्यक्षमा अडानले यसबारेमा सहमति जुट्न सकेको छैन।

निर्वाचन अगावै कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने पूर्वसहमति अनुरुप निर्वाचनमा उठाइएको बताइए पनि माओवादीले दाबी नछाड्दा सत्ता गठबन्धनमा किचलो सुरु भएको हो।

यता गठबन्धनमा यही किचलो व्याप्त हुँदा नेपालको राजनीतिमा सक्भावित नयाँ संकेतहरु समेत देखा पर्न थालेका छन्। सुरुदेखि नै घोषित रुपमा सत्तागठबन्धन तोड्ने रणनीतिका साथ अघि बढेको एमालेले आफ्नो निर्दिष्ट लक्ष्य हात पार्ने ध्याउन्नमा छ।

यही पेरिफेरिमा एमाले माओवादीका अध्यक्षद्वयको बढ्दो हिमचिम र निकटताले नयाँ राजनीतिक समीकरणको सम्भावना बढेको राजनीतिका जानकारहरुले औंल्याउन थालेका छन्।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीसँगको बढ्दो निकटताले पुनः वाम गठबन्धनको बहस सतहमा आएको छ।

संसदको पहिलो दल काग्रेसँगको सत्ता सहकार्य गर्दै सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहालले एमालेसँग निकटता बढाएपछि सत्ता गठबन्धनमा संशय पैदा भएको छ।

कांग्रेसले आफ्नो महासमिति बैठकबाट चुनाव अघि गठबन्धन नगर्ने गगन थापाको राजनीतिक प्रस्ताव पारित गरेको छ। यसबाट त्रसिएको माओवादीले फेरि एमालेसँगको सहकार्यको संकेत दिलाएपछि कांग्रेस माओवादी एकअर्काप्रति सशंकित बनेका छन्।

यही मौकामा घोषित रुपमा गठबन्धन टुटाउने दावा गरेको एमालेले पनि माओवादी अध्यक्ष दाहालसँग सहकार्यका लचिलो बनेको स्रोतले जनाएको छ।

विगत केही दिनदेखि अध्यक्षदय दाहाल र ओली एक अर्काप्रति नरम देखिएका छन्। उनीहरुको सौहार्दपूर्ण सक्बन्ध झांगिदै गएको माओवादीका एक नेता बताउँछन्।

‘पछिल्लो समय हाम्रो अध्यक्ष प्रचण्ड र उहाँ (ओली) बीच सम्बन्धमा नयाँ आयाम कायम भएको छ। एक अर्काप्रति नरम र शालिन ढंगले प्रस्तुत हुनु भएको छ।’, ती नेताले भने,‘अध्यक्षसँग बालुवाटार आएर ओलीले अध्ययनका लागि किताव मागेर लग्नुभएको छ। यसले सम्बन्ध सुमधुर भएको दर्शाउँछ। निकट समयमै सहकार्यको सम्भावित परिदृष्य देखिएको छ।’

ती नेताका अनुसार कांग्र्रेसमा गठबन्धन गर्न नहुने पक्ष हाबी भएकाले माओवादीले वाम गठबन्धनका लागि पहल गर्नु सबै कोणबाट उपयुक्त हुने निष्कर्षमा अध्यक्ष दाहाल पुगेका छन्।

केही दिन अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालको भाषण संग्रहको पुस्तक आफैें मागेर लिएका थिए। त्यस क्रममा पनि दुईजनाबीच हार्दिकतापूर्ण व्यवहार भएको स्रोत बताउँछ।

सत्तारुढ माओवादी, जसपा,एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको शनिबार सम्पन्न बैठकले पनि एमालेसहित सबै वामपन्थी दललाई सहकार्यका लागि पत्राचार गर्ने निर्णय गरेको छ। यसले पनि वामगठबन्धनको सम्भावित परिदृष्यलाई मजबुद बनाएको छ।

यता, कांग्रेसले चुनाव अघि गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकबाट पारित गरेपछि माओवादीले गठबन्धनको विकल्पका विषयमा छलफल हुन थालेको बताइन्छ। पार्टीमा वाम गठबन्धन नै हितकर हुने नेताहरुले सु्झाइरहेका छन्।

यद्यपि कांग्रेसको महासमिति बैठकले गठबन्धन नगर्ने महामन्त्रीको प्रस्ताव पारित गरे पनि तत्कालनि अवस्थालाई मध्यनजर गर्दै गठबन्धनबारे अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय समिति मतहत रहेको बताइएको छ।

कांग्रेससँगको गठबन्धनले पार्टीलाई हितकर नहुने भन्दै माओवादीभित्रै पनि वम गठबन्धनको बहस सुरु भएको छ। नेताहरुले औपचारिक एवं अनैपचारिक रुपमा वाम गठबन्धनका लागि पहल गनुपर्ने आवाज उठाइरहेका छन्।

माओवादीको यही फागुन पहिलो साता सम्पन्न प्रथम विधान अधिवेशनमा नेताहरुले कांग्रेससँगको गठबन्धन परित्याग गर्दै वाम गठबन्धनमा जानुपर्ने आवाज प्रअर रुपमा उठाइएको थियो।

पार्टीका सिन्धुली इन्चार्ज एवं प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले ७ बुँदे धारणा राख्दै वृहत वाम एकतामा जोड दिन अध्यक्षले प्रधानमन्त्री समेत छाडन्ुपर्ने मत व्यक्त गरिरहेका छन्।

उनले वाम गठबन्धनको पक्षमा घोषित रुपमा आवाज मुखरित गरिरहेका दाहालले कांग्रेससँगको सहकार्यले पार्टीलाई थप क्षति हुने सम्भावना औंल्याउँछन्।

उनी भन्छन्, तत्काल एमालेसहित सबै वाम गठबन्धनको मोर्चा बनाएर अघि बढ्नुपर्छ। कांग्रेससँगको सहकार्य जति बढ्दै जान्छ त्यति ने पार्टीलाई थप क्षति हुँदै जान्छ।

उनले एमाले माओवादी सहित सबै दललाई समेटेर नयाँ गठबन्धन या मोर्चा बनाएर अघि बढ्नु हितकर हुने बताउँछन्।

माओवादीले प्राप्त गरेको चुनावी जनमत पनि सरकार सञ्चालनका लागि नभएको बताउँदै उनले सरकार छाडेर भए पनि वाम गठबन्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

‘माओवादी सरकार छाडेरै भएपनि वाम गठबन्धनका लागि पहल गर्नुपर्छ। वृहत वाम एकता नै आजको आवश्यकता हो। त्यसका लागि अध्यक्षले त्याग गर्न सक्नुपर्छ ।’, उनले भने।

सरकार जोगाउनका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्नुपरेको वर्तमान अवस्थालाई इगिंत गर्दै उनले माओवादीले सरकार छाडेर पार्टी निर्माणमा जुट्नुपर्ने जिकिर गरे। सरकार सञ्चालन गर्न कांग्रेस एमालेलाई दिएरै भए पनि सम्पूर्ण शक्ति पार्टी निर्माणमा लगाउनुपर्ने उनको मत छ।

पार्टीमा वाम गठबन्धनबारे बहस भए पनि औपचारिक रुपमा ठोस निर्णय भइनसकेको नेता दाहालले बताए। यसबारेमा आगामी दिनमा थप पहलकदमी लिएर मूर्तरुप दिनुपर्ने विषय पार्टीमा उठेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2024
Website | + posts