पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल अलपत्र अवस्थामा

पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल अलपत्र अवस्थामा : Icon Khabar

ललितपुर, असोज २ । ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बर्ष बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।

झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरुले भवनलाई घेरेका छन् । छेउका बोटबिरुवाहरु बढेर श्रीमहल नै ढाक्न थालेका छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरुका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो । त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालन भएको थियो । भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ ।

भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनःनिर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो । तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो । आफैँ निर्माण गर्छौं भनेर जिम्मा लिएको स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले सहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ ।

स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार चालु आर्थिक वर्षदेखि श्रीमहल पुनःनिर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । उहाँले भन्नुभयो, “श्रीमहल पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौँ । श्रीमहल पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ ।”

हाल चारैतिरको भाग जीर्ण देखिएको श्रीमहलको परिसरमा पर्खाल भत्केर झरेका इँटा छरिएका छन् । भवन भूतबङ्गला जस्तै भएको छ । श्रीमहल परिसरमा आदिवासी जनजाति आयोग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालगायत अन्य सरकारी कार्यालयका भवन छन् ।

Published Date: 19 September 2023


ताजा
मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढ्यो
कृष्णभीर पहिरो : पृथ्वीराजमार्ग खुल्न १५ दिन लाग्ने
रसुवागढी नाका बन्द भएपछि कोरला नाकामा बढ्यो व्यापारिक चाप
प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने


ट्रेन्डिङ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क