गोरखा, भदौ २२ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुईवटा महत्वपूर्ण पुल बगाएपछि मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।
आइतबार बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ। पुलहरू बगेपछि स्थानीय आवतजावतसँगै पदयात्रीको यात्रा पनि जोखिमपूर्ण बनेको छ।
बाढीका कारण मनास्लु पदमार्गमा पर्यटक आवागमन प्रभावित भएको छ भने लार्केपासका लागि गएका सयौँ पदयात्री बाटोमै अलपत्र परेको स्थानीय स्रोतले जनाएको छ। बाढीले दुईवटा लघु जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको र स्थानीय विद्युत् तथा सञ्चार सेवामा असर परेको छ।
प्रशासनले यात्राको तयारीमा रहेका वा पदमार्गमै रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म मनास्लु वा लार्केपास पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। साथै, कुनै विपद् वा असामान्य अवस्था देखिएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहमा जानकारी गराउन अनुरोध गरिएको छ।
बाढीबाट स्थानीय केही घरमा समेत क्षति पुगेको छ। प्रशासन तथा स्थानीय निकायले प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरेका छन्।
सम्बन्धित पदयात्री तथा पर्यटन व्यवसायीलाई प्रशासनको अर्को सूचना नआएसम्म मनास्लु र लार्केपास क्षेत्रको यात्रा स्थगित गर्न आग्रह गरिएको छ।
Published Date: 07 September 2026