काठमाडौं, भदौ १६ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी–केरुङ नाका ध्वस्त भएपछि चीनबाट आयात हुने सामान मुस्ताङको कोरला नाकातर्फ डाइभर्ट हुन थालेका छन्।
सशस्त्र प्रहरीका अनुसार आइतबार साँझसम्म चीनबाट सामान बोकेका ६६ कन्टेनर मुस्ताङ प्रवेश गरिसकेका छन् भने करिब एक सय खाली कन्टेनर सामान लिन कोरला पुगेका छन्। यद्यपि डाइभर्ट भएका सामानसहितका कन्टेनर भने अझै भन्सार बिन्दुमा पुगिसकेका छैनन्।
एक्कासि बढेको व्यापारिक चाप धान्न कोरला नाकामा पर्याप्त पूर्वाधार र जनशक्ति छैन। १८ कर्मचारीको दरबन्दी रहे पनि हाल १२ जना मात्रै कार्यरत छन्। क्वारेन्टिन तथा आवश्यक पूर्वाधारको अभावमा फलफूल, तरकारी र खाद्यान्न आयातमा समेत समस्या रहेको व्यवसायीले बताएका छन्।
कोरलाबाट काठमाडौंसम्मको सडक लामो, कच्ची र पहिरोको जोखिमयुक्त भएकाले ठूला कन्टेनर सञ्चालनमा थप चुनौती देखिएको छ। व्यवसायीका अनुसार केरुङबाट कोरला हुँदै सामान ल्याउँदा करिब १ हजार १ सय किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्ने भएकाले ढुवानी लागत बढेर बजारमा सामान महँगिने सम्भावना छ।
यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डसमेत अवरुद्ध हुँदा कोरलाबाट आएका सामान काठमाडौं ल्याउन थप समस्या देखिएको छ। व्यवसायीहरूले कोरला नाकाको पूर्वाधार र जनशक्ति तत्काल बढाउनुका साथै प्रमुख सडकमार्ग युद्धस्तरमा सुधार गर्न सरकारसँग माग गरेका छन्।
कोरला भन्सारले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। संकटका बेला वैकल्पिक व्यापारिक नाकाका रूपमा कोरला सक्रिय भए पनि सडक, भन्सार पूर्वाधार र मौसमजन्य जोखिमका कारण दीर्घकालीन रूपमा भरपर्दो विकल्प बन्न अझै चुनौती रहेको देखिएको छ।
Published Date: 01 September 2026