अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक

अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन ६ । पछिल्लो समय देशका विभिन्न स्थानमा बिना सूचना पटक–पटक विद्युत अवरुद्ध हुने, मर्मतसम्भारमा ढिलाइ हुने र उपभोक्ताको गुनासो बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले वितरण प्रणाली सुधारका लागि २६ बुँदे सुधारात्मक कार्ययोजना लागू गरेको छ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका नवनियुक्त प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालले पदभार सम्हालेकै दिन प्रादेशिक तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गर्दै कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

कार्ययोजनाको मुख्य उद्देश्य विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउनु, बारम्बार दोहोरिने ट्रिपिङ घटाउनु, उपभोक्तालाई समयमै सूचना उपलब्ध गराउनु तथा वितरण प्रणालीमा देखिएका कमजोरी सुधार गर्नु रहेको प्राधिकरणले जनाएको छ।

यसअन्तर्गत बारम्बार विद्युत अवरुद्ध हुने २० वटा फिडरलाई प्रत्येक प्रदेशमा प्राथमिकतामा राखेर विशेष निगरानी गरिनेछ। ती क्षेत्रमा ट्रिपिङ, ओभरलोड तथा प्राविधिक समस्याको नियमित समीक्षा हुनेछ भने विद्युत लाइनमा असर गर्ने रूखका हाँगा काट्ने, कमजोर संरचना मर्मत गर्ने र आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर थप्ने कामलाई तीव्रता दिइनेछ।

योजनाबद्ध रूपमा विद्युत सेवा अवरुद्ध गर्नुअघि वेबसाइट र सामाजिक सञ्जालमार्फत अनिवार्य रूपमा पूर्वसूचना दिने व्यवस्था गरिएको छ। आकस्मिक खराबी भएमा कारण र सेवा पुनः सञ्चालन हुने अनुमानित समय तत्काल सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ।

प्राधिकरणले अब समस्या आएपछि मात्रै मर्मत गर्ने पुरानो अभ्यास अन्त्य गर्दै लाइन, फिडर र ट्रान्सफर्मरको नियमित पूर्व–सावधानीमूलक मर्मतलाई अनिवार्य बनाएको छ। साथै प्रत्येक फिडरको जिम्मेवारी इन्जिनियर तथा सुपरभाइजरलाई तोकिनेछ भने फिल्डमा कार्यरत कर्मचारीका लागि सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनेछ।

कार्ययोजनाले विद्युत चुहावट नियन्त्रण र बक्यौता महसुल असुलीलाई पनि प्राथमिकता दिएको छ। सरकारी निकाय, स्थानीय तह तथा अन्य ग्राहकको बक्यौता उठाउन विशेष अभियान सञ्चालन गरिनेछ भने विद्युत चोरी नियन्त्रणका लागि डिजिटल इनर्जी एकाउन्टिङ प्रणाली कार्यान्वयन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आगामी १५ दिनभित्र अत्यधिक समस्या देखिएका क्षेत्रमा ठेक्का प्रक्रिया अघि बढाएर आवश्यक भौतिक सुधारका काम सुरु गरिनेछ।

प्राधिकरणले यो योजना प्रभावकारी रूपमा कार्यान्वयन भए बारम्बार हुने विद्युत अवरोधमा कमी आउनुका साथै वितरण प्रणालीको विश्वसनीयता, उपभोक्ता सेवा, विद्युत सुरक्षा, राजस्व संकलन तथा संस्थागत कार्यसम्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ।

Published Date: 22 July 2026
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय