भक्तपुर, साउन ४ । जिल्ला प्रहरी परिसर भक्तपुरले असार २०८३ महिनामा जिल्लाभर १४८ वटा अपराधसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ। प्रहरीका अनुसार सो अवधिमा ७६ जना चालु मुद्दाका प्रतिवादी पक्राउ परेका छन् भने १०४ जना अझै फरार रहेका छन्।
प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असार महिनामा १२ वटा लागुऔषध, ५ वटा जबरजस्ती करणी, २ वटा कर्तव्य ज्यान, २ वटा जबरजस्ती करणी उद्योग, १ वटा बाल यौन दुरुपयोग, १ वटा ज्यान मार्ने उद्योग र १ वटा डाँका सम्बन्धी गरी कुल २४ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएका छन्।
आर्थिक अपराधतर्फ ६६ वटा बैंकिङ कसुर र १४ वटा ठगीका मुद्दा दर्ता भएका छन्। साथै सहकारी ठगीसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको एउटा मुद्दा पनि दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले असार महिनामा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २० जनालाई पक्राउ गरी ८ हजार ७५७ क्याप्सुल ट्रामाडोल, २.५४ ग्राम ब्राउन सुगर, ४७२.९७ ग्राम पोल्याण्ड, ६९० ग्राम गाँजालगायतका लागूऔषध बरामद गरेको जनाएको छ।
ट्राफिक व्यवस्थापनतर्फ असार महिनामा ४७ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २८ जना घाइते भएका छन् भने कुनै पनि मानवीय मृत्यु भएको छैन। दुर्घटनाको प्रमुख कारण चालकको असावधानी, तीव्र गति, लापरवाही तथा मादक पदार्थ सेवन रहेको प्रहरीको विश्लेषण छ।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ४१२ वटा सवारी साधनमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट २२ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरी परिसरले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४० वटा उजुरी दर्ता भएकामध्ये ३९ वटा मिलापत्रमार्फत समाधान गरिएको छ भने १ वटा उजुरी बाँकी रहेको छ। हराएका २९ जनामध्ये २८ जना फेला परिसकेका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत असार महिनामा १९० वटा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ। ती कार्यक्रममार्फत १२ हजार १० जना प्रत्यक्ष लाभान्वित भएका छन् भने ४६ वटा विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रममा ३ हजार ५८४ विद्यार्थी सहभागी भएका थिए।
प्रहरीका अनुसार असार महिनाभर मोबाइल, पैदल, मोटरसाइकल तथा ग्रामीण गस्तीलाई निरन्तर सञ्चालन गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।
Published Date: 20 July 2026