भक्तपुर, जेठ २१ । भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित आर्मी व्यारेक नजिक एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। घटनामा छुट्टाउन गएका ८ वर्षीय छोरा समेत घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार साँझ करिब ७:४५ बजे काठमाडौं जिल्लाको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० स्थित आर्मी व्यारेक पछाडि डेरा गरी बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादका क्रममा आफ्नी ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार धारिलो हतियार खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गर्दा सलिनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाका क्रममा आमाबुवालाई छुट्टाउने प्रयास गरेका उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत खुकुरी प्रहारबाट घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारपछि राति करिब ९:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। बालकलाई आवश्यक संरक्षणका लागि जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको खुकुरी बरामद गरेको छ।
प्रहरीले घटनामा संलग्न विदुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
Published Date: 04 June 2026