भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न

भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ २० । विश्व साइकल दिवस २०२६ को अवसरमा भक्तपुरमा पहिलोपटक आयोजना गरिएको ‘वुमन्स हेरिटेज राइड’ (महिला सांस्कृतिक साइकल यात्रा) भव्य रूपमा सम्पन्न भएको छ। परम्परागत कुर्था तथा सांस्कृतिक पोशाकमा सजिएका महिलाहरूले ऐतिहासिक नगर भक्तपुरका सम्पदामार्गमा साइकल यात्रा गर्दै महिला सशक्तीकरण, दिगो यातायात र सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गरेका छन्।

साइकल कनेक्ट भक्तपुरअन्तर्गतको महिला समूह साइक्लिङ्ग मैचा (Cycling Maicha) को आयोजनामा सम्पन्न कार्यक्रममा करिब ४० जना महिला सहभागी भएका थिए। अनुभवी साइकलयात्रीदेखि नयाँ सिक्दै गरेका महिलासम्मको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

यात्रा बिहान ५:३० बजे भक्तपुर दरबार क्षेत्रबाट सहभागीहरूको भेलासँगै सुरु भएको थियो। आवश्यक तयारीपछि बिहान ६:१५ बजे औपचारिक रूपमा साइकल र्‍याली प्रारम्भ भएको थियो। भक्तपुरका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई समेट्दै यात्रा दरबार स्क्वायर, त्रिपुरासुन्दरी, चोछेन, महालक्ष्मी, नागपोखरी, क्वाथण्डौ, नवदुर्गा मन्दिर, सूर्यमढी, दत्तात्रेय, तौमढी र सिद्धपोखरी हुँदै पुनः दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो।

परम्परागत सापारु (गाईजात्रा) प्रदक्षिणा मार्गमा महिलाहरूले सामूहिक रूपमा साइकल चलाएको दृश्यले स्थानीय बासिन्दा तथा बिहानका पैदलयात्रीहरूको ध्यान आकर्षित गरेको थियो। कार्यक्रमको समापन दरबार क्षेत्रमा चियापानसहित गरिएको थियो। कार्यक्रम सञ्चालनका लागि लक्ष्मी अवाल, साइक्लिङ्ग मैचा समितिका सदस्यहरू तथा एशियन खतिवडाले सहयोग प्रदान गरेका थिए।

आयोजकहरूका अनुसार यो कार्यक्रम केवल साइकल यात्रा मात्र नभई स्थानीय साइकल संस्कृतिमा महिला नेतृत्वको नयाँ अध्यायको सुरुआत हो। साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्माचार्य ले विगत पाँच वर्षदेखि महिलाको सहभागिता बढाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै यसपटक महिलाहरूले आफैं योजना बनाउनेदेखि सञ्चालनसम्मको नेतृत्व गरेको बताए।

“पहिले हामी महिलाहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्थ्यौं। तर यसपटक कार्यक्रमको सम्पूर्ण अवधारणा, योजना र व्यवस्थापन महिलाहरूले नै गरेका छन्। यो हाम्रो लागि अत्यन्तै गर्वको विषय हो,” उनले बताए।

कार्यक्रममा सहभागी सुजाता नाकर्मी ले विभिन्न उमेर समूहका महिलाहरूलाई आत्मविश्वासका साथ साइकल चलाइरहेको देख्दा आफू अत्यन्त प्रेरित भएको बताइन्।

“मेरो आमाको उमेरका महिलाहरूलाई समेत उत्साहका साथ साइकल चलाउँदै गरेको देख्नु अविस्मरणीय अनुभव थियो। साइकल केवल यातायातको माध्यम होइन, स्वतन्त्रता, आत्मविश्वास र समुदायसँग जोडिने एउटा सशक्त साधन पनि रहेछ भन्ने अनुभूति भयो,” उनले भनिन्।

साइक्लिङ्ग मैचाकी संयोजक दिललक्ष्मी ताम्राकार का अनुसार हेरिटेज राइडले स्थानीय महिलाहरूमा साइकलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढाएको छ। कार्यक्रमपछि धेरै महिलाले साइकल सिक्न र प्रशिक्षण लिन इच्छा व्यक्त गरेका छन्।

यसैलाई मध्यनजर गर्दै संस्थाले आगामी महिनाहरूमा थप २०० महिलालाई साइकल प्रशिक्षण प्रदान गर्ने लक्ष्यसहित आर्थिक तथा प्राविधिक सहयोग जुटाउने अभियान सञ्चालन गर्ने जनाएको छ। अभियानले महिलाहरूलाई आत्मनिर्भर, आत्मविश्वासी तथा सार्वजनिक स्थानमा स्वतन्त्र रूपमा आवतजावत गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

विश्व साइकल दिवसको अवसरमा सम्पन्न यस कार्यक्रमले परम्परा, समुदाय र दिगो विकासलाई एकै सूत्रमा बाँध्दै महिला नेतृत्वको शक्तिशाली उदाहरण प्रस्तुत गरेको आयोजकहरूको भनाइ छ। भक्तपुरले देखाएको यो अभ्यासले सांस्कृतिक सम्पदाको संरक्षणसँगै समावेशी र दिगो भविष्य निर्माणमा महिला सशक्तीकरणको भूमिका अझ स्पष्ट रूपमा उजागर गरेको छ।

Published Date: 03 June 2026






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न