साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो

साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो : Icon Khabar

काठमाडौं, जेठ २० । गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल उपाधि दौडबाट बाहिरिएको छ।

जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले २३औँ मिनेटमा गीता रानाको गोलमार्फत अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा रितु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई खेलमा फर्काइन्।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि इन्जुरी समयमा सागोरिकाको नाममा दर्ज भएको गोल निर्णायक बन्यो। गीता रानाले क्लियर गर्न खोजेको बल प्रीति राईको घुँडामा लाग्दै आफ्नै पोस्टमा प्रवेश गरेपछि नेपाल स्तब्ध बनेको थियो।

यस जितसँगै लगातार दुई पटकको विजेता बंगलादेश तेस्रो पटक लगातार फाइनलमा पुगेको छ। आठौँ संस्करणको साफमा नेपाल १० वर्षपछि पहिलो पटक फाइनल पुग्न असफल भएको हो।

Published Date: 03 June 2026