काठमाडौं, जेठ १३ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ।
धर्मशालामा मंगलबार राति सम्पन्न खेलमा आरसिबीले दिएको २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १ सय ६२ रनमै समेटियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रनको विशाल योगफल तयार गरेको थियो। टोलीको जितमा कप्तान रजत पाटीदार नायक बने। उनले केवल ३३ बलमा ९ छक्का र ५ चौकाको मद्दतमा अविजित ९३ रनको विस्फोटक इनिङ्स खेले।
विराट कोहलीले २५ बलमा ४३ रन जोड्दा देवदत्त पडिक्कलले ३० तथा क्रुनाल पाण्ड्याले ४३ रनको योगदान दिए। गुजरातका लागि जेसन होल्डर र कागिसो रबाडाले समान २ विकेट लिए।
जवाफी ब्याटिङमा गुजरातले सुरुदेखि नै दबाब झेल्नुपर्यो। कप्तान शुभमन गिल, साई सुदर्शन र जोस बटलर छिट्टै आउट भएपछि टोली संकटमा परेको थियो। राहुल तेवतियाले संघर्षपूर्ण ६८ रन बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
आरसिबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जेकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान २–२ विकेट हात पारे। जोश हेजलवुड र रसिख सलामले पनि महत्वपूर्ण सफलता दिलाए।
फिल साल्ट चोटका कारण अनुपस्थित रहे पनि आरसिबीले आक्रामक सुरुआत गरेको थियो। वेंकटेश अय्यरले केवल ७ बलमा १९ रन बनाएपछि टोलीले तीव्र गतिमा रन बटुलेको थियो।
१४ औं ओभरसम्म प्रतिस्पर्धात्मक देखिएको खेलमा पाटीदारले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै गुजरातका बलरमाथि दबाब सिर्जना गरे। आरसिबीले अन्तिम ६ ओभरमा १ सय १४ रन थप्दै खेल पूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो।
लिग चरणमा शीर्ष दुईमा रहेकाले गुजरातले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ। अब उसले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आइपिएल इतिहासमा क्वालिफायर–१ जित्ने टोलीले पछिल्ला आठ संस्करणमध्ये सबै पटक उपाधि जितेको तथ्यले यसपटक आरसिबीको उपाधि सम्भावना अझ बलियो बनेको छ।
Published Date: 27 May 2026