नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह : Icon Khabar

काठमाडौँ, जेठ १२ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक र देखिने सुधार ल्याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान समयको आवश्यकता र आफूहरूलाई सुम्पिएको जिम्मेवारीप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताएका हुन् ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे ।

उनले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य बनाइने तथा लोकतान्त्रिक मूल्यमान्यता र राजनीतिक स्थिरताको संरक्षणमा सरकार प्रतिबद्ध रहने बताए ।

प्रधानमन्त्री शाहले सुशासन र समावेशी आर्थिक वृद्धिका लागि सरकार केन्द्रित रहेको दोहोर्‍याउँदै जनताका लागि नयाँ अवसर सिर्जना गर्न विश्व बजारसँग सहकार्य, लगानी आकर्षणका लागि प्रक्रियागत सुधार, नवप्रवर्तन प्रवर्द्धन तथा दिगो विकासमा जोड दिइने बताए ।

उनले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने उल्लेख गर्दै छिमेकी मुलुक, विकास साझेदार र मित्रराष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तमा आधारित रहेको बताए ।

प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिमा सहयोग पुर्‍याउँदै आएका विकास साझेदार तथा मित्रराष्ट्रप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको स्पष्ट पारे ।

भेटका क्रममा उनले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिकले सबैभन्दा बढी पीडा भोग्नुपरेको उल्लेख गर्दै शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

भेटमा सहभागी काठमाडौँ र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए । साथै, उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको एजेन्डासहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको बताएका थिए ।

Published Date: 26 May 2026