गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग : Icon Khabar

काठमाडौं, वैशाख ९ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो शेयरसम्बन्धी विषयमा पछिल्ला दिनहरूमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारी वहन गर्दै पद त्याग गरेको बताएका छन्।

गुरुङले बुधबार जारी गरेको वक्तव्यमा पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास नै नेतृत्वको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेका छन्। उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफ्नो निर्णय आएको बताएका छन्।

उनले भने, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै conflict of interest नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”

गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै अब सबै पक्षले सत्य, इमानदारी र आत्मशुद्धिको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन्। साथै, उनले सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई वास्तविक परिवर्तनका लागि जिम्मेवार बन्न आह्वान गरेका छन्।

उनको राजीनामापछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ भने अब सरकारको आगामी कदम के हुने भन्ने विषयमा चासो बढेको छ।

Published Date: 22 April 2026