१२ दिनमा १ लाख दर्शक भित्र्याउँदै भक्तपुर महोत्सव सम्पन्न, ३ करोडको कारोबार

१२ दिनमा १ लाख दर्शक भित्र्याउँदै भक्तपुर महोत्सव सम्पन्न, ३ करोडको कारोबार : Icon Khabar

भक्तपुर , वैशाख ८ । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ सफलतापूर्वक सम्पन्न भएको छ। चैत २६ गतेदेखि सञ्चालनमा आएको महोत्सव १२ दिनसम्म जारी रहँदा करिब १ लाख दर्शकले अवलोकन गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए।

“उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरेका थियौं,” अध्यक्ष महतले बताए। महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामग्री तथा विभिन्न व्यापारिक स्टलहरू आकर्षणका केन्द्र बनेका थिए।

महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू राखिएका थिए। ती स्टलमार्फत करिब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकको दाबी छ। महोत्सव संयोजक दीपक थापाका अनुसार दैनिक रूपमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक साधनहरू पनि राखिएका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै बासुदेव थापा ले यस्ता महोत्सवहरूले स्थानीय बजार चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौं,” उनले भने। साथै, सूर्यविनायक नगरपालिका ले यस्ता सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच, महोत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगितामा रतिश गिरी प्रथम हुँदै २० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए। दोस्रो स्थानमा अन्नी तामाङले १० हजार र तेस्रो स्थानमा स्प्रीका शाहीले ५ हजार रुपैयाँ प्राप्त गरिन्। रेम्बो तामाङ र रेविका लामाले सान्त्वना स्वरूप जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए।

कार्यक्रमकै अवसरमा ‘समय समाज’ साप्ताहिककी पत्रकार सिर्जना खतिवडालाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

Published Date: 21 April 2026