अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार

अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार : Icon Khabar

काठमाडौँ, वैशाख ८ ।  सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार भएका छन्। प्रधानमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार गुरुङले आफूविरुद्ध उठेका प्रश्नबारे अनुसन्धानमा सहयोग पुर्‍याउन राजीनामा दिने तयारी गरेका हुन्।

यसअघि प्रधानमन्त्री बालेन शाह ले गृहमन्त्री गुरुङसँग स्पष्टीकरण लिएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन्। गृहमन्त्रीको सचिवालयले पनि उक्त स्पष्टीकरण पेश गरिएको पुष्टि गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले विवादमुक्त भई पुनः जिम्मेवारीमा फर्किन सहज हुने भन्दै राजीनामाको सुझाव दिएका छन्। यस विषयमा गुरुङले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसँग समेत छलफल गरेको बताइएको छ।

यसैबीच, अनुसन्धानको दायरामा रहेका भट्ट र शंकर समूहसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा गुरुङको लगानी रहेको कागजात सार्वजनिक भएको छ। तर, गत चैत २९ गते सार्वजनिक गरिएको गुरुङको सम्पत्ति विवरणमा ती लगानी उल्लेख गरिएको छैन।

यस्तै, जेन–जी आन्दोलनपछि तथा मन्त्री बन्नुअघि धितोपत्रको दोस्रो बजारबाट खरिद गरिएको सेयर विवरणसमेत सम्पत्ति विवरणमा नसमेटिएको खुलेको छ, जसले थप प्रश्नहरू उठाएको छ।

Published Date: 21 April 2026