रसुवाको केरुङ नाकामा चाडपर्वलाई ल्याइएका सामान अझै अलपत्र अवस्थामा

रसुवाको केरुङ नाकामा चाडपर्वलाई ल्याइएका सामान अझै अलपत्र अवस्थामा : Icon Khabar

काठमाडौँ, मंसिर १५ । पाँच महिनादेखि रसुवाको केरुङ नाकामा चाडपर्वलाई ल्याइएका सामान अझै अलपत्र अवस्थामा छन् । गत २४ असारमा आएको बाढीपहिरोले पुल भत्किएर नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै रोकिएका हुुन् ।

राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले चाडपर्वलक्षित पाँचदेखि छ सय कन्टेनर सामान अझै केरुङ नाकामै थन्किएको जानकारी दिए । “तिज, दसैँ र तिहारका लागि साउनमा चीनबाट आयात गरिएको सामान केरुङ नाकामै अलपत्र छन् । सिजनेबल सामान रोकिँदा व्यवसायीलाई ठुलो समस्यामा परेको छ,” उनले भने । अहिले जाडो सुरु भइसकेकाले सिजनका सामान समयमा आउन नसक्दा व्यवसायीले नोक्सान बेहोर्नु परेको उहाँको भनाइ छ । व्यवसायीले महँगो ढुवानी भाडा तिरेर मुस्ताङको कोरला नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ल्याए पनि धेरै सामान अझै केरुङ नाकामा रोकिएको उनको भनाइ छ । नेपालको कुल व्यापारमा १३ प्रतिशत व्यापार चीनसँग रहेको छ । सबैभन्दा धेरै चीनमा रसुवा नाकाबाट निर्यात हुने गरेको छ । पाँच महिनादेखि नाका बन्द हुँदा आयातनिर्यात ठप्प रहेको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका अहिले सामान्य मात्रै सञ्चालनमा छ । वर्षाका कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि मात्र सञ्चालनमा आएको हो । केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीले महँगो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयात गर्नु परेको श्रेष्ठको भनाइ छ ।

गत २४ असारमा आएको बाढीका कारणले गर्दा रसुवाको मितेरी पुल बगाउँदा आयातनिर्यात ठप्प हुँदा पाँच महिनामा १८ अर्ब रुपियाँ बराबरको राजस्व गुमेको रसुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले विगत पाँच महिनादेखि नाका बन्द भई आयातनिर्यात ठप्प हुँदा राजस्व सङ्कलनसमेत बन्द रहेको उनले जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/८३ मा रसुवा नाकाबाट ४० अर्ब १६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । असार अन्तिम सातादेखि आयातनिर्यात बन्द हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकिएको प्रमुख भट्टराईले बताए । हाल सो नाकामा पुल निर्माणको काम भइरहेको छ ।

मितेरी पुल निर्माण नभएसम्म आयातनिर्यात नियमित हुन नसक्ने उनको भनाइ छ । चिनियाँ पक्षले नाकामा बेलिब्रिज निर्माण गरिरहेकाले आगामी डिसेम्बर पहिलो सातासम्म प्राविधिक परीक्षण गरिने अनौपचारिक जानकारी गराएको उनले बताए । बेलिब्रिजको निर्माण सम्पन्न भई सञ्चालनमा आए आयातनिर्यात सुरु हुने उहाँले जानकारी दिए । बेलिब्रिजको क्षमता ४९ मेट्रिक टन रहेकाले सोही अनुसार सामान ल्याउन सकिने उनको भनाइ छ ।

गत आव २०८१/८२ मा रसुवा नाकाबाट ८८ अर्बको आयात र तीन अर्ब रुपियाँ बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, विद्युतीय सवारीसाधन, पार्टपुर्जा, लत्ताकपडालगायतका सामान आयात हुँदै आएको छ । यस्तै तयारी कपडा, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकलगायतका सामग्री आयात हुन्छन् ।

नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधी, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा र कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बिउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, उनीका उत्पादन, फल, हस्तकला, मुसुरो, जुटका झोला, छुर्पी निर्यात हुने वस्तु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2025
ताजा
पेट्रोलियम पदार्थको अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह
आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदै, निर्वाचन प्रचारप्रसार निषेध हुने
मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो