काठमाडौँ, मंसिर १५ । पाँच महिनादेखि रसुवाको केरुङ नाकामा चाडपर्वलाई ल्याइएका सामान अझै अलपत्र अवस्थामा छन् । गत २४ असारमा आएको बाढीपहिरोले पुल भत्किएर नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै रोकिएका हुुन् ।
राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले चाडपर्वलक्षित पाँचदेखि छ सय कन्टेनर सामान अझै केरुङ नाकामै थन्किएको जानकारी दिए । “तिज, दसैँ र तिहारका लागि साउनमा चीनबाट आयात गरिएको सामान केरुङ नाकामै अलपत्र छन् । सिजनेबल सामान रोकिँदा व्यवसायीलाई ठुलो समस्यामा परेको छ,” उनले भने । अहिले जाडो सुरु भइसकेकाले सिजनका सामान समयमा आउन नसक्दा व्यवसायीले नोक्सान बेहोर्नु परेको उहाँको भनाइ छ । व्यवसायीले महँगो ढुवानी भाडा तिरेर मुस्ताङको कोरला नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ल्याए पनि धेरै सामान अझै केरुङ नाकामा रोकिएको उनको भनाइ छ । नेपालको कुल व्यापारमा १३ प्रतिशत व्यापार चीनसँग रहेको छ । सबैभन्दा धेरै चीनमा रसुवा नाकाबाट निर्यात हुने गरेको छ । पाँच महिनादेखि नाका बन्द हुँदा आयातनिर्यात ठप्प रहेको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाका अहिले सामान्य मात्रै सञ्चालनमा छ । वर्षाका कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि मात्र सञ्चालनमा आएको हो । केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीले महँगो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयात गर्नु परेको श्रेष्ठको भनाइ छ ।
गत २४ असारमा आएको बाढीका कारणले गर्दा रसुवाको मितेरी पुल बगाउँदा आयातनिर्यात ठप्प हुँदा पाँच महिनामा १८ अर्ब रुपियाँ बराबरको राजस्व गुमेको रसुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले विगत पाँच महिनादेखि नाका बन्द भई आयातनिर्यात ठप्प हुँदा राजस्व सङ्कलनसमेत बन्द रहेको उनले जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/८३ मा रसुवा नाकाबाट ४० अर्ब १६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । असार अन्तिम सातादेखि आयातनिर्यात बन्द हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकिएको प्रमुख भट्टराईले बताए । हाल सो नाकामा पुल निर्माणको काम भइरहेको छ ।
मितेरी पुल निर्माण नभएसम्म आयातनिर्यात नियमित हुन नसक्ने उनको भनाइ छ । चिनियाँ पक्षले नाकामा बेलिब्रिज निर्माण गरिरहेकाले आगामी डिसेम्बर पहिलो सातासम्म प्राविधिक परीक्षण गरिने अनौपचारिक जानकारी गराएको उनले बताए । बेलिब्रिजको निर्माण सम्पन्न भई सञ्चालनमा आए आयातनिर्यात सुरु हुने उहाँले जानकारी दिए । बेलिब्रिजको क्षमता ४९ मेट्रिक टन रहेकाले सोही अनुसार सामान ल्याउन सकिने उनको भनाइ छ ।
गत आव २०८१/८२ मा रसुवा नाकाबाट ८८ अर्बको आयात र तीन अर्ब रुपियाँ बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।
चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, विद्युतीय सवारीसाधन, पार्टपुर्जा, लत्ताकपडालगायतका सामान आयात हुँदै आएको छ । यस्तै तयारी कपडा, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकलगायतका सामग्री आयात हुन्छन् ।
नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधी, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा र कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बिउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, उनीका उत्पादन, फल, हस्तकला, मुसुरो, जुटका झोला, छुर्पी निर्यात हुने वस्तु हुन् ।
Published Date: 01 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news