भक्तपुर, मंसिर ५ । भक्तपुर जिल्ला प्रशासनको नेतृत्व सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेशकुमार ढकालको सम्मान तथा उद्यमी–व्यवसायीसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सिडिओ ढकालले देशका विभिन्न स्थानमा १३ जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेको अनुभव साझा गर्दै, आफू जहाँ गए पनि स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्ने गरेको बताए। सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक पहिचान बोकेको जिल्लामा पदभार ग्रहण गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भक्तपुरका लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवर्द्धन गर्ने कार्यमा साथ–सहयोग रहने प्रतिबद्धता जनाए।
ढकालले आफ्नो कार्यकक्षमा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिने चलन रहेको उल्लेख गर्दै, मेला–महोत्सवमा मनोरञ्जनका साधनभन्दा स्थानीय उत्पादनलाई बढी स्थान दिनुपर्ने सुझाव दिए। समाजलाई अगाडि बढाउन घरेलु तथा साना उद्योगको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले उद्यमीहरूलाई निडर भएर उद्योग सञ्चालन गर्न आग्रह गरे।
कार्यक्रममा संघका पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले स्थानीय उत्पादनप्रति सर्वसाधारणकै बढी समझ हुने भएकाले स्थानीय सरकारले आफ्नै उत्पादनप्रति अपनत्व लिनुपर्ने धारणा राखे। अर्का पूर्व अध्यक्ष सत्यनारायण प्रजापतिले २०७८ सालमा नेपाल घरेलु तथा साना उद्योग महासंघको महाधिवेशनका क्रममा ढकालले सहयोग गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे।
उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले घरेलु तथा साना उद्योग संघसँग विभिन्न तालिम, मेला तथा अन्तरक्रिया कार्यक्रमसमेत गर्दै आएर सहकार्य जारी रहेको जानकारी दिए।
त्यसैगरी, ‘गो लोकल’ अभियानका संयोजक विरेन्द्र जतिले संघले संचालन गरिरहेको अभियानको उद्देश्य र औचित्यमाथि प्रकाश पारे। निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले उद्यमीमैत्री वातावरण बनाउन जिल्ला प्रशासनको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथको अपेक्षा गरे।
संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मण ग्वाछा, उपाध्यक्ष हरिगोपाल त्वायना तथा सचिव श्रीजना कक्षपतिले पनि संघका गतिविधि र योगदानबारे धारणा प्रस्तुत गरे।
Published Date: 21 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news