काठमाडौँ, असोज ३० । जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज २८ गतेसम्म डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २१ करोड ३६ लाख रुपैयाँको बीमा दाबी परेको हो।
१४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १६३ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ। बीमा दाबीमध्ये कम्पनीहरुले १ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेका छन् । निर्जीवन बीमा कम्पनीमा परेको दाबीमा बुधबारसम्म भएको भुक्तानी अग्रिम हो।
तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थि प्रिमियम इन्स्योरेन्समा परेको छ । कम्पनीमा ३ सय ९४ वटा बीमा दाबीबाट ५ अर्ब ४८ करोड ५४ लाख २९ हजार रुपैयाँ दाबी परेको छ । त्यसमा कम्पनीले अहिलसम्म ७८ करोड ८ लाख ८२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियरमा भाटभटेनी सुपरमार्केटको ठूलो दाबी रहेको बताइएको छ ।
त्यस्तै दोस्रो ठूलो दाबी दि ओरियन्टल इन्स्योरेन्समा ९८ वटा बीमा दाबीबाट ५ अर्ब २४ करोड ८२ लाख ५१ हजार बीमा दाबी परेको छ । त्यसमध्ये कम्पनीले अहिलेसम्म ७१ लाख ७० हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा अहिलेसम्म २ सय १५ वटा बीमा दाबीबाट २ अर्ब ७९ करोड, शिखर इन्स्योरेन्समा ४ सय ३३ वटा बीमा दाबीबाट २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ सय ४२ वटा १ अर्ब ५९ करोड रुपैयाँ, नेको इन्स्योरेन्समा २ सय ५९ वटा बीमा दाबीबाट १ अर्ब १५ करोड रुपैयाँ बीमा दाबी परेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९८ करोड ६२ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योेरेन्समा १ सय ७० वटा बीमा दाबीबाट ८८ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स २ सय ३८ वटा बीमा दाबीबाट ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा २ सय ५ वटा बीमा दाबीबाट ६० करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ सय ४६ वटा ५८ करोड ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १ सय ८ वटा बीमा दाबीबाट ४८ करोड ८९ लाख रुपैयाँ र प्रभु इन्स्योेरेनसले १ सय ११ वटा बीमा दाबीबाट २१ करोड ८ लाख रुपैयाँ बीमा दाबी परेको छ । नेसनल इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ८ करोड ५७ लाख र १ करोड ४९ लाखको दाबी परेको छ भने बाँकी तीन वटा लघु बीमा कम्पनीमा १ करोड रुपैयाँ भन्दा कमको दाबी रेको छ ।
अहिलेसम्म सिद्धार्थ प्रिमियरले ७८ करोड ८ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड २७ लाख, शिखर इन्स्योरेन्सले ४२ करोड २७ लाख, हिमाल एभरेष्ट इन्स्योरेन्सले २४ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तथ्यांक अनुसार नेसनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले अहिलेसम्म कुनै पनि दाबीको भुक्तानी दिएको छैन ।
तथ्यांक अनुसार सबैभन्दा धेरै बीमा दाबी सम्पत्ति बीमामा परेको छ । सम्पत्ति बीमामा ६ सय ७३ वटा निवेदनमा १९ अर्ब ७१ लाख ६२ हजार रुपैयाँको दाबी परेको छ जसमध्ये १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । संख्यात्मक रुपमा मोटर बीमाको दाबी धेरै परे पनि यसको दाबी रकम भने सम्पत्ति बीमाको तुलनामा कम छ । मोटर बीमामा २ हजार २ सय ५६ वटा निवेदनबाट ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको बीमा दाबी परेकोमा ३६ करोड २५ लाख रुपैयाँ बराबरको भुक्तानी भइसकेको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १ सय ८२ वटा निवेदनबाट ३३ करोड १७ लाख रुपैयाँको बीमा दाबी परेकोमा ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ । परिवहन बीमामा १२ वटा निवेदनबाट १ करोड ६३ लाख रुपैयाँ तथा अन्य बीमामा ४० वटा निवेदनबाट ३८ करोड ८६ लाख रुपैयाँ बीमा दाबी परेकोमा २२ लाख ८२ हजार रुपैयाँ भुक्तानी भएको छ ।
प्रदेशको आकारमा बागमती प्रदेशमा सबैभन्दा १७ सय ६ वटा निवेदनबाट १७ अर्ब ५९ करोड ९३ लाख रुपैयाँको दाबी परेको छ । बागमतीपछि कोशी प्रदेशमा ३ सय ९४ वटा निवेदनबाट २ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ दाबी रहेकोमा २६ करोड ५४ लाख रुपैयाँ बीमा भुक्तानी भएको छ। बागमती र कोशीपछि गण्डकीमा सबैभन्दा धेरै २ सय १३ वटा बीमा दाबीबाट १ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ दाबी परेको छ । त्यसमध्ये १० करोड ६५ लाख रुपैयाँ भुक्तानी भएको छ ।
त्यस्तै मधेशमा ६९ करोड ५५ लाख, लुम्बिनीमा ४७ करोड १९ लाख, कर्णालीमा १० करोड ७ लाख रुपैयाँ र सुदुर पश्चिममा ३३ करोड ५६ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
Published Date: 16 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news