काठमाडौं, साउन ९ । साताभर लगभग सकारात्मक रहेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन शुक्रबार झण्डै ८ अंकले बढेर कारोबार भन्द भएको छ।
बिहीबार १४.१७ अंकले बढेको बजार आज शुक्रबार ७ दशमलव ९० अंकले बढेर २७ सय ३४ दशमलव ६३ अंकको विन्दुमा उक्लिएको छ। आज कुल ३५३ कम्पनीका १ करोड ३७ लाख कित्ता सेयर ६९ हजार ५९७ पटक खरिदबिक्री हुँदा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकम बिहीबारको तुलनामा ३३ प्रतिशतले बढी हो। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ६ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको हो।
कारोबार भएका ३५३ कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै १५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
शुक्रबार कारोबार भएका कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट कलर लिमिटेडका सेयरधनीले १४ दशमलव ९९ प्रतिशतले कमाएका छन्। त्यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १४ दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६ दशमलव ८२ प्रतिशतले कमाएका छन्।
त्यस्तै सबैभन्दा बढी गुमाउनेमा सानिमा बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ता रहेका छन्। १० प्रतिशत सानिमा डिबेन्चरका लगानीकर्ताले ८ दशमलव ९२ प्रतिशतले गुमाएका छन्। दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ३८ प्रतिशतले गुमाएका छन्।
शुक्रबार सबैभन्दा धेरै रिडी पावर कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको २ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
सेयर संख्याको आधारमा सबैभन्दा धेरै कुमारी बैंकको ११ लाख २९ हजार कित्ता सेयर खरिदबक्री भएको छ भने रिडी पवार कम्पनीको ८ लाख २४ हजार कित्ता सेयर खरिद विक्री भएको छ।
Published Date: 24 July 2026