काठमाडौं, साउन ४ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश भू-भागमा बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि थप सक्रिय बनेको हो।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर मौसम बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको क्रम जारी रहने अनुमान गरिएको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
Published Date: 20 July 2026