काठमाडौँ, जेठ १२ । सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो ।
यो निर्णयसँगै देशभरका ३६ निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि लगायत नियमित सेवा प्रभावित हुने भएका छन् । बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई हालसम्म करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
लामो समयदेखि भुक्तानी नपाएको भन्दै निजी अस्पतालहरूले असन्तुष्टि जनाउँदै आएका थिए । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक अव्यवस्था र कमजोर व्यवस्थापनका कारण संकटमा परेको भन्दै आलोचना बढेको छ ।
Published Date: 27 May 2026