पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना : Icon Khabar

काठमाडौं, जेठ १३ । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने सम्भावना छ भने अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘लु’ चल्न सक्ने सम्भावना रहेको छ भने मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्न सक्ने मौसमविद्ले बताएका छन्।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी रातिको समयमा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Published Date: 27 May 2026