आईपिएलमा चेन्नईको ऐतिहासिक जित: मुम्बई १०३ रनले पराजित

आईपिएलमा चेन्नईको ऐतिहासिक जित: मुम्बई १०३ रनले पराजित : Icon Khabar

काठमाडौँ, वैशाख ११ । चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) मा शानदार जित हात पारेको छ।

मुम्बईको वानखेडे मैदानमा बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १ सय ४ रनमै अलआउट भयो।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो।

चेन्नईको जितमा सञ्जु सामसन ले अविजित शतक प्रहार गरे। ५४ बलमा १० चौका र ३ छक्कामा उनले १०१ रनको उत्कृष्ट इनिङ्स खेले।

टोलीका लागि दोस्रो उच्च स्कोर केवल रितुराज गायकवाडले २२ रन जोडे। मुम्बईका अल्लाह मोहम्मद गजनफर र आश्विन कुमारले समान २ विकेट लिए।

२ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बई सुरुदेखि नै दबाबमा रह्यो। टोलीका लागि तिलक वर्मा ले ३७ रन र सूर्यकुमार यादव ले ३५ रन बनाए पनि अन्य ब्याटरले खासै योगदान दिन सकेनन्। मुम्बईका ११ मध्ये ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ चेन्नईका अकिल होसिन ले शानदार प्रदर्शन गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। त्यस्तै नूर अहमद ले २ विकेट लिए।

यो खेलसँगै मुम्बईले आइपिएल इतिहासकै रनका हिसाबले सबैभन्दा ठूलो हार बेहोरेको छ।
यसअघि दुवै टोली प्रतियोगिताको अंकतालिकामा क्रमशः सातौँ र आठौँ स्थानमा रहेका थिए। यो नतिजापछि चेन्नई पाँचौं स्थानमा उक्लिएको छ भने मुम्बई आठौं स्थानमा यथावत छ।

आइपिएलका सबैभन्दा सफल दुई टोलीबीचको प्रतिस्पर्धा भएकाले खेल सुरुदेखि नै रोमाञ्चक बनेको थियो।

Published Date: 24 April 2026