बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा …..

बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा ….. : Icon Khabar

भक्तपुर, वैशाख ४ । विश्वप्रसिद्ध बिस्का: जात्राको आठौँ दिन आज भक्तपुरमा ‘द्यो स्वगं बिएगु’ अर्थात् सगुन जात्रा भव्य रूपमा सम्पन्न भएको छ।

परम्पराअनुसार भक्तपुरका बासिन्दाले आफ्ना द्यो छें (देवघर) बाट देवीदेवताका मूर्तिहरू निकालेर चोक तथा डबलीमा स्थापना गरी सगुन चढाउने प्रचलन रहेको छ। श्रद्धालुहरूले आ–आफ्नो गच्छेअनुसार रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुटलगायतका परिकार चढाएर पूजा गरेका थिए।

आज बिहानैदेखि नगरका विभिन्न स्थानमा धिमे बाजा, बाँसुरी बाजा तथा भजन खलःको सहभागितामा शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गर्दै सगुन जात्रा मनाइएको हो।

जात्रामा सहभागी स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक—महिलाहरू हाकु पटासी र पुरुषहरू दौरा सुरुवालमा सजिएर सहभागी भएका थिए, जसले जात्राको सांस्कृतिक आकर्षण थप बढाएको थियो।

इतिहासमा उल्लेख भएअनुसार यो पूजा प्राचीनकालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। बिस्का: जात्राका क्रममा कुनै त्रुटि वा विघ्नबाधा भए क्षमायाचनाका रूपमा शक्तिशाली देवीदेवताहरूको पूजा गर्ने परम्परालाई नै सगुन जात्राका रूपमा लिने गरिएको जनविश्वास रहेको छ।

जात्राका अवसरमा भक्तपुरका विभिन्न टोल तथा सडक पेटीहरूमा दर्शकहरूको उल्लेखनीय भीड देखिएको थियो, जसले सिंगो नगरलाई जात्रामय बनाएको छ।

यस क्रममा नगरभरि छरिएका ३३ वटा देवस्थलमा सगुन चढाइने परम्परा रहेको छ। अष्टमातृकाका आठ, भैरव, गणेशलगायत गरी कुल ४१ देवीदेवताहरूलाई सगुन अर्पण गरिने गरिएको छ।

Published Date: 17 April 2026