काठमाडौं, फागुन २० । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन भोलि देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार मतदान कार्य प्रभावित हुने गरी वर्षा हुने कुनै सम्भावना नरहेको स्पष्ट गरिएको छ।
महाशाखाले सार्वजनिक गरेको ताजा पूर्वानुमान अनुसार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्यतया सफा मौसम रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली देखिए पनि वर्षा हुने अवस्था नरहेको जनाइएको छ।
निर्वाचनका दिन मौसम अनुकूल रहने भएकाले मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आह्वान गरिएको छ। मौसमका कारण यातायात वा अन्य सेवामा अवरोध नआउने विश्वास विभागले व्यक्त गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आवश्यक परेमा अद्यावधिक विवरण सार्वजनिक गरिने समेत जनाएको छ। Published Date: 04 March 2026
