धादिङ, फागुन २० । प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्दै फैलाइएको समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् ।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी खारेज भएको भनी प्रसारित भएका खबरहरू पूर्णतः निराधार, कपोलकल्पित र षड्यन्त्रपूर्ण रहेको भन्दै उनले त्यसको कडा शब्दमा खण्डन गरेकी हुन् ।
तामाङले सामाजिकसञ्जालमार्फत निर्वाचनको अन्तिम घडीमा मतदाताहरूलाई भ्रमित पार्न यस्तो दुष्प्रचार गरिएको बताएकी छन् । उनले भनिन्, “मेरो उम्मेदवारी कायमै छ। मलाई बारम्बार ‘विदेशी’ भन्दै लगाइएका आरोपहरू पूर्णतः झुटो हुन्। म यही देशको नागरिक हुँ र मलाई संविधानले भोट हाल्ने तथा उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ।”
उनले आफूलाई कमजोर बनाउन रचिएको यो खेल सफल नहुने दाबी गर्दै मतदाताहरूलाई कुनै पनि भ्रममा नपरी निर्धक्क भएर मतदान गर्न अपिल गरेकी छन् । उनले आफू जनताकै छोरी-चेली भएको र धादिङको परिवर्तनका लागि चुनावी मैदानमा अडिग रहेको पुनः दोहोर्याएकी छन् । Published Date: 04 March 2026
