काठमाडौं, फागुन २० । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, चपली क्षेत्रमा शङ्कास्पद प्रेसर कुकर फेला परेपछि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन्।
मंगलवबार मध्यराति फेला परेको उक्त वस्तुका कारण स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको छ भने रातभर आवतजावत पूर्ण रूपमा रोकिएको थियो।
चपलीबाट माथिल्लो भंगालतर्फ जाने भित्री सडकमा कागजले बेरिएको र तार जोडिएको प्रेसर कुकर भेटिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार वस्तु बम हो वा होइन भन्नेबारे यकिन हुन बाँकी छ।
घटनापछि नेपाली सेना अन्तर्गतको चन्दननाथ गणबाट १५ सदस्यीय बम डिस्पोजल टोली परिचालन गरिएको छ। टोलीले बिहानैदेखि शङ्कास्पद वस्तु निष्क्रिय पार्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरी र सशस्त्र प्रहरी बलले क्षेत्रलाई घेराबन्दी गर्दै सुरक्षा व्यवस्था कडा पारेका छन्। अनुसन्धान जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ। Published Date: 04 March 2026
